वनैभरि ‘एक्लै’ फूलिरहेछ गुराँस



रवीन्द्र काफ्ले
फिदिम, १५ वैशाख

मेची राजमार्गमा पर्ने पौवाभञ्ज्याङ बजारबाट डाँडातिर चढेपछि सिङ्गो जङ्गल नै रङ्गीचङ्गी लालिगुराँसले भरिएको मनमोहक दृश्य देखिन्छ । यहाँबाट पूर्वतर्फ गए सुकेपोखरी र लोहकिल क्षेत्र तथा पश्चिमतर्फ सिलौटी र लब्रेकुटीमा थरिथरीका लालिगुराँसले वन नै ढाकेको छ ।

पौवाभञ्ज्याङबाट कच्ची बाटोमा आधा घण्टा यात्रा गरेपछि सुकेपोखरी पुगिन्छ । सुकेपोखरीमा रहेका घरबासमा स्थानीय परिकारको स्वाद चाख्नु अघि नै माथि डाँडामा देखिने गुराँसै गुराँसको जङ्गलले यहाँ पुग्ने हर कोहीको मनलाई उतै डोहो¥याउँछ । घरबासमा स्वादिष्ट स्थानीय परिकार पाइन्छ । चिसो मौसममा कुखुराको सुपदेखि झ्याउको अचारसम्म यहाँका पृथक स्वाद हुन् ।

सानो वस्तीमाथि डाँडो नै गुराँसले रङ्गीन छ । जति माथि पुग्यो, उति रमाइलो लाग्छ । जमिनको उचाई जति बढ्छ, गुराँसका रुखको उचाई कम हुँदै जान्छ । गुराँसको रङ्ग गाढा बन्दै जान्छ । गुराँस लिएर तस्वीर र ‘सेल्फी’ खिच्दै एक घण्टा यात्रा गर्दा लोहकिल डाँडोमा पुगिन्छ । ३३ सय मिटर उचाईमा अवस्थित लोहकिलबाट चारैतिर रहेको गुराँसको जङ्गल, पहाडका फाँट, बेँसी तथा उच्च हिम श्रृङ्खला देखिन्छ ।

तर यसवर्ष कोभिड–१९ को विश्वब्यापी प्रकोपले जङ्गलमा गुराँस ‘एक्लै’ फुलिरहेछ । गुराँसमाथि बसेर जङ्गली पन्छिहरुले छर्ने मधुर आवाज सुन्न कोही पुगेको छैन् । अहिले ढकमम्म फुलेको गुराँस अझै फक्रन बाँकी छ र विस्तारै झर्न थाल्छ । अनि जमिनलाई समेत गुराँसको फूलले ढाक्छ । शिरशिर चल्ने वतासले गुराँसको फूल झार्छ, हिमालमा हिउँ परेझैँ ।

अरु वर्ष यही रोमाञ्चक दृश्यपान गर्न र सुन्दर तस्वीरहरु कैद गर्न मानिसहरुको लर्को लाग्थ्यो । नयाँ वर्षका दिन त यहाँ डाँडैभरी आन्तरिक पर्यटक हुन्थे । सामाजिक सञ्जाल पनि यहाँ तस्वीरहरुले भरिन्थे । मध्य चैतदेखि वैशाख मसान्तसम्मको समय लालिगुराँस क्षेत्रको भ्रमण उपयुक्त ठानिन्छ । तर नयाँ वर्षको आसपास चाँहि विशेष हुने गर्दछ ।

ब्यावसाय सङ्कटमा पर्ने चिन्ता

यो वर्ष भने त्यस्तो अवस्था छैन् । कोभिड–१९ को विश्वब्यापी प्रकोपले वनभरीको गुराँसदेखि चोखो मनले अतिथिलाई स्वागत गर्न तम्तयार घरबास सञ्चालकहरुलाई उदास र एक्लो पारेको छ । गुराँस र यहाँको प्राकृतिक सुन्दरतामा आधारित ब्यावसाय गर्नेहरुका लागि यो वर्ष राम्रो आम्दानी गर्ने ठूलो मौका थियो ।

“वर्षेनि लाखौँ रकम आम्दानी हुन्थ्यो । यो वर्ष हिँउदमा पानी परेकाले यो सिजनमा झरी नलाग्ला भन्ने आशा थियो”, घरवास सञ्चालक फौदमान राईले भन्नुभयो, “गुराँस फूल्ने सिजनमा मेला पनि लगाइन्थ्यो । एकै सिजनको आम्दानीले वर्षभरी खान पुग्थ्यो ।” ब्यावसाय गर्नेहरुलाई मात्रै होइन्, घुम्न जानेहरुका लागि पनि यो सिजन विशेष हुने थियो ।

कोभिड–१९ को प्रकोप र जारी लकडाउनले झण्डै तीन हजार मिटर उचाईमा रहेको सुकेपोखरी स्थित घरबास र ३३ सय मिटर उचाईमा रहेको गुराँस भ्रमण क्षेत्रमा समेत प्रभाव पारेको छ । यहाँका घरबास सञ्चालक सिजनमै पर्यटक नआउने भएपछि चिन्तामा छन् । विशेषत आन्तरिक पर्यटकको भीड लाग्ने सुकेपोखरी÷लोहकिल क्षेत्र कोभिड–१९ को प्रकोप र ‘अनिश्चित’ जस्तै लाग्ने लकडाउनबाट प्रभावित भएको घरबास सञ्चालक सुरेश राईको भनाई छ ।

नयाँ वर्षको दिन अघि र पछिको एक/एक साता सुकेपोखरी तथा लोहकिल क्षेत्रका लागि विशेष थियो । हजारौँ पर्यटकको घुँइचो लाग्थ्यो । लाखौँको ब्यापार हुन्थ्यो । यहाँ रुखमा लाग्ने झ्याउको राम्रो परिकार खान सकिन्छ । झ्याउ प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा विक्री हुन्छ ।

जडिबुटीको खानी यो क्षेत्रमा पूर्वी नेपालमा विरलै देख्न पाइने चाँप गुराँससँगै फुलेको देख्न पाइन्छ । सुकेपोखरी सहित यहाँ लोहकिल, नागढुङ्गा, पाटेनागी र कुहिभीर देउराली लगायत रमणीय क्षेत्रहरु छन् । यी स्थानमा लाग्ने पर्यटकको घुँइचोले मिल्ने गरेको आर्थिक लाभ कोरोनाभाइरसको प्रभावले गुम्दै जानसक्ने स्थानीयवासीको चिन्ता छ ।

“ठूलो मेहनतले यहाँ वर्षेनि पर्यटक भित्रेन स्थिति निर्माण गरेका थियौँ । पर्यटक गुमाउनु पर्ला कि भन्ने चिन्ता छ”, घरबास सञ्चालक सुरेश राईले थप्नुभयो, “आर्थिक रुपले नाजुक अवस्था आउनसक्ने र ब्यवसाय सङ्कटमा पर्ने चिन्तामा छौँ ।”

पर्यटन विकासमा स्थानीयवासी आफैँ जागरुक

लोहकिल डाँडोबाट सूर्योदय र सूर्यास्त अत्यन्तै राम्रोसँग देख्न सकिने हुनाले दृश्यावलोकन, सूर्योदय र गुराँसका रङ्गको बेजोड संयोग पर्दथ्यो । यहाँबाट भारत र चीनको भू–भाग तथा हिम श्रृङ्खला देख्न सकिने स्थानीयवासीको दाबी छ ।

पाँचथरको फिदिम नगरपालिका–१४ र फाल्गुनन्द गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने यो स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले यहाँको विकास र स्थानीयको आयआर्जन अभिवृद्धिका लागि २०७२ कात्तिकबाट ‘सुकेपोखरी लोहकिल पर्यटन विकास मञ्च’ निर्माण गरी औपचारिक पहल थालिएको थियो ।

पौवाभञ्ज्याङबाट सुकेपोखरी हुँदै नागढुङ्गा, सैलुङ्गेसम्मको पदमार्ग निर्माण सम्पन्न भएको छ । घरबास सञ्चालन तालिम दिइ पाँच घरमा घरबास सञ्चालन भइरहेका छन् । प्रत्येक घरबासमा तीनदेखि पाँच जनालाई राख्ने क्षमता रहेको घरबास सञ्चालक राईको भनाई छ ।

पर्यटन विकासमा नागरिक स्तरबाट ठूलो पहल भएपनि स्थानीय तहहरुले प्रभावकारी बजेट विनियोजन नगर्दा पर्यटकीय विकास र प्रचार–प्रसारले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ ।

सिलौटी र लब्रेकुटी पनि उत्तिकै सुन्दर

पौवाभञ्ज्याङबाट पश्चिमतर्फ रहेको सिलौटी र लब्रेकुटी पनि गुराँसले ढाकिएको छ । विश्व शान्ति र मानव एकताको सन्देश छर्ने महागुरु फाल्गुनन्दको तपोभूमि र समाधिस्थलको दर्शनसँगै यहाँबाट प्रकृतिका अनुपम छटाहरुको दृश्यावलोकन तथा गुराँसको मनमोहक दृश्यमा रमाउन हजारौँ आन्तरिक पर्यटक भेला हुन्थे । विशेषत लामो दूरी यात्रा गर्न नसक्नेहरुलाई सिलौटी र लब्रेकुटी विशेष छन् । यहाँसम्म सबैजसो सवारीका साधन पुग्छन् ।

लब्रेकुटी सिलौटी पर्यटन विकास समाजमा सचिव सुवास तुम्वापोका अनुसार गुराँस फुलेको याममा सिलौटी र लब्रेकुटीमा नयाँ वर्षमा रमाइलो गर्नेहरुका लागि ‘विशेष’ हुन्थ्यो । तराई र पहाडका स्थानीयका लागि नयाँ वर्षमा यहाँको भ्रमण गर्ने वानी नै परिसकेको थियो । आन्तरिक पर्यटकको चापले सुकेपोखरीका घरबास, पौवाभञ्ज्याङ, कान्छीदोकान, लालिखर्क लगायत स्थानमा पर्यटनमा आधारित ब्यवसाय फस्टाउन थालेका थिए ।

प¥याप्त पहल आवश्यक छ

पाँचथर र इलाम जिल्लाको सीमावर्ती पर्यटकीय क्षेत्रहरुको विकासका लागि प¥याप्त पहल आवश्यक रहेको सरोकारवालाको ठम्याई छ । यस क्षेत्रको विकास तथा प्रचार–प्रसारमा सक्रिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हर्कबहादुर नेम्वाङ स्थानीय सरकारले पर्यटकीय विकास र पर्यटनमा आधारित स्थानीयवासीको आयआर्जन अभिवृद्धिका लागि विशेष योजना बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।

“सूर्योदयको दृश्यावलोकन, पैदल यात्रा, गुराँस लगायत सिजनअनुसारका प्राकृतिक फूलहरुमा रमाइलो गर्न तथा स्थानीय परिकारहरुको स्वाद लिन यी स्थानहरु महत्वपूर्ण छन्”, नेम्वाङले भन्नुभयो, “यहाँको विकासका लागि स्थानीय सरकारहरुले विशेष पहल लिनुपर्छ । त्यसमा प्रदेश र संघीय सरकारको सहयोग आवश्यक छ ।”

इलामको सन्दकपुरदेखि पाँचथरको लोहकिल तथा चारराते क्षेत्र हुँदै पाँचथरकै याङवरक गाउँपालिकाको लामपोखरीसम्मका क्षेत्रहरु गुराँस फुल्ने सिजनमा पैदल यात्राका लागि आकर्षक भएपनि त्यसका लागि उपयुक्त पूर्वाधार समेत तयार नभएको नेम्वाङको भनाई छ । “स्थानीय पर्यटकबाटै स्थानीयवासीले लाभ पनि लिनसक्ने आधारहरु छन् । तर पूर्वाधार निर्माणमा विशेष जोड दिनुप¥यो”, उहाँले भन्नुभयो ।

फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी गुराँस क्षेत्रको प्रचार तथा पूर्वाधार विकासमा जोड दिन लालिगुराँस महोत्सव आयोजना गर्ने तयारी भइरहेको थियो । कोभिड–१९ को प्रकोप तथा लकडाउनले उक्त कार्यक्रम यस वर्ष स्थगित भएको छ ।

गुराँस क्षेत्र सहितका पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारले लालिखर्क–लब्रेकुटी–सिलौटी–पौवाभञ्ज्याङ–सुकेपोखरी सडक कालोपत्रेको तयारी थालेको छ । यसै आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन तयार पारी अर्को आ.व.बाट निर्माण कार्य थालनी गर्ने तयारी रहेको गुरुङले वताउनुभयो । गुराँस क्षेत्रको ब्यवस्थित विकास र प्रचारमा प¥याप्त लगानी हुन नसकेको आफूहरुको समेत अनुभूति गरेको प्रवक्ता गुरुङको भनाई छ ।

३१ प्रजातिका गुराँस

प्रदेश नं. १ मा ३१ प्रजातिका गुराँस पाइने विभिन्न अध्ययनहरुले देखाएका छन् । १२ देखि ३६ सय मिटर उचाइसम्म गुराँसको विविधता पाइन्छ । यस क्षेत्रमा कति प्रजातिका गुराँस पाइन्छन् भन्ने अध्ययन भने हुन सकेको छैन् ।

गुराँस क्षेत्रको संरक्षण, अध्ययन तथा ब्यवस्थित पर्यटकीय क्षेत्र निर्माणका लागि गुरुयोजना निर्माण गर्ने, प्रदेश तथा संघीय सरकारसँग मिलेर पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना रहेको फिदिम नगरपालिकाका प्रवक्ता गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्