लकडाउन वैशाख २५ सम्म लम्बियो



फिदिम । मन्त्रिपरिषद्को आइतवारको बैठकले देशमा जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भन्नुभयो “हालसम्मको लकडाउन प्रभावकारी रहेको भन्ने समीक्षा भएको छ । अब थप १० का लागि लकडाउन जारी राख्ने भन्ने निर्णय भएको छ ।”

सङ्क्रमण बढेको अवस्थामा २५ गतेसम्म लकडाउन गरेर मात्रै यसबारे थप निर्णय गर्ने कुरा भएको पनि उहाँले वताउनुभयो । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले लकडाउन थपेको यो समेत चौथो पटक हो ।

सरकारले चैत ११ गते यता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ । सरकार प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन लम्ब्याउनेबाहेक पनि निर्णय भएको जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गतेसम्मका लागि बढाइएको छ”, उहाँले भन्नुभयो, “त्यस्तै इपीएसअन्तर्गत दक्षिण कोरियामा श्रमिकका रुपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।”

किन लकडाउन थपियो ?

शनिवार कोभिड–१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न एवम् लकडाउनका सम्बन्धमा निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने तर यसको निर्णय मन्त्रिपरिषद्ले गर्ने जनाएको थियो । समितिले स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरू खुकुलो पार्न सकिने विषयमा छलफल गरेको थियो ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा केही परिमार्जनसहित लकडाउनलाई निरन्तरता दिन समितिलाई गृहकार्य गर्न निर्देशन दिएका थिए । समितिको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । छिमेकी मुलुक भारतमा वैशाख २१ गतेसम्म ‘लकडाउन’ रहेको छ । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्