दिनहुँ थपिँदैछन् सङ्क्रमित



फिदिम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार साँझ दिएको विवरण अनुसार झापाका एक ५० वर्षीय पुरुषमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि आइतवार नै पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरूको संख्या बढेर आइतवार ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार तीन पुरुषहरूमा सङ्क्रमण देखिएको आइतवार पुष्टि भएको हो ।

झापाका सङ्क्रमित व्यक्ति अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै वीरगन्जका दुवै सङ्क्रमित व्यक्तिहरू अहिले आइसोलेशनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्क्रमितहरू वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका र उनीहरूमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो ।

अधिकारीहरूका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १६ जना निको भई घर फर्किसकेका छन् । यसअघि शुक्रवार झापाका एक ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा ३० जना, वीरगन्जमा तीनजना (आइतवारका दुईसहित) र भरतपुर तथा धनगढीमा एकरएकजना कोरोनाभाइरस सङ्क्रमित उपचाररत छन् ।

को हुन् नयाँ सङ्क्रमित ?

वीरगञ्जमा सङ्क्रमण आइतवार पुष्टि भएका दुई पुरुष यसअघि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएका तीन भारतीय जमातीको सम्पर्कमा रहेका बस्नेतले वताउनुभयो । सङ्क्रमितमध्ये एकजना वीरगन्ज महानगरपालिकामा कार्यरत कर्मचारी छन् ।

बस्नेतका अनुसार सङ्क्रमितमध्ये एकजना शङ्कास्पद लागेर सिद्धार्थ माविको क्वारन्टीनमा बसिरहेका थिए । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीन भारतीय नागरिक र एक रौतहटका नेपाली नागरिकलाई सङ्क्रमणमुक्त भएपछि आइतवार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्