
फिदिम, १४ वैशाख
इलाम फाकफोकथुम–३ सल्लेरी बस्ने ४० बर्षीय राम बहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ ।
आज दिउँसो आफ्नै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा चिप्लिएर लड्दा उनको मृत्यु भएको हो । घटनावारे उनका आफन्तले प्रहरी चौकी आमचोकमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल गई कानूनी प्रकृया पूरा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस्तै भोजपुरको पौवादुम्मा गाउँपालिका–४ कात्तिके बस्ने ५४ बर्षीय बलबहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।
हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकेर घर तर्फ आउँदै गरेका कार्की वीच बाटोमा परालको भारी बिसाउने क्रममा चिप्लिएर भीरबाट झरेका थिए । गोरेटो बाटोबाट करिब ३५ मिटर तल झर्दा उनको घटनास्थलमै मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।
घटनावारे स्थानीयले प्रहरीलाई खवर गरेपछि प्रहरी टोली आज घटनास्थल पुगी कानूनी प्रकृया पूरा गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।