रातारात गाउँ आएपनि क्वारेन्टाइनमै



फिदिम, ११ वैशाख

काठमाण्डौँ उपत्यका तथा झापामा अस्थायी बसोबास गरिरहेका जिल्लावासीहरु रातारात गाउँ फर्किए । कतिपय त मालबाहक सवारीमा समेत गाउँ आए । गाउँमा कोभिड–१९ सङ्क्रमणको सम्भावना न्यून रहेको, दैनिकी चलाउन सहज हुने तथा परिवारसँग समय विताउँदै खेतीपातीका काममा सहयोग गर्ने उनीहरुको अपेक्षा थियो । यसरी गाउँ फर्कनेमध्ये अधिकांश ब्यवसायी, विद्यार्थी, श्रमिक र निजी क्षेत्रका कर्मचारी छन् ।

तर गाउँ बाहिर रहेका सबैजना गाउँ फर्किएपछि गाउँमा कोभिड–१९ सङ्क्रमणको त्रास बढ्दै गयो । मानवीय चहलपहल पनि बढ्यो । पछिल्लो पटक विदेशबाट तीन हप्ताभन्दा अघि फर्केका तथा क्वारेन्टाइनमा बसिसकेकाहरु समेत कोभिड–१९ सङ्क्रमण देखिएपछि यहाँ गाउँमा फर्केकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट ब्यवस्थापन समितिको बैठकले चैत लागेयता विदेशबाट आएका सहित लुकिछिपी जिल्ला बाहिरबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि पछिल्लो समय पाँचथरका क्वारेन्टाइनहरु भरिँदै गएका छन् ।

यसअघि पाँचथरमा चैत लागेयता विदेशबाट आएकाहरु तथा तिनको सम्पर्कमा पुगेका १०४ जनाले क्वारेन्टाइनमा दुई साता विताई घर फर्केका थिए । उनीहरु सबैको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) समेत गरिएको थियो ।

विदेशबाट फर्केका कतिपय भने गाउँमै लुकिछिपी बसेको, स्वदेशकै विभिन्न स्थानबाट गाउँ आएकाहरुका कारण सङ्क्रमणको खतरा बढेको पाइएपछि उनीहरुलाई समेत क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो ।

केही दिन खाली भएका क्वारेन्टाइनमा अहिले ८० जनालाई राखिएको छ । उनीहरु अधिकांश स्थानीयवासी छन् । जिल्लामा फिदिम नगरपालिकामा १० जना, हिलिहाङ गाउँपालिकामा १९ जना, याङवरकमा ६ जना, तुम्बेवामा ३ जना, फाल्गुनन्दमा ७ जना, फालेलुङमा ३ जना, मिक्लाजुङमा १९ जना र कुम्मायकमा १३ जना क्वारेन्टाइनमा राखिएका छन् ।

यहाँ हालसम्म १९१ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण सम्पन्न भएको छ भने ३२ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षणबाट सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

विगतमा यहाँ १०४ जना ब्यक्तिहरु क्वारेन्टाइनमा दुई हप्ता विताई घर फर्किसकेका थिए । उनीहरु अधिकांश विदेशबाट फर्केका ब्यक्ति तथा तिनको परिवारका सदस्य थिए । विदेशबाट फर्केका तथा तिनको सम्पर्कमा आएका ब्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाइएपछि अधिकांश क्वारेन्टाइन खाली भएका थिए ।

लामो समयपछि समेत कोभिड–१९ लक्षण देखा पर्ने भएपछि जिल्ला बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । जसकारण यहाँका क्वारेन्टाइनहरु भरिभराउ भएका छन् ।

जिल्लाका आठ स्थानीय तहमा २०४ बेड क्वारेन्टाइन निर्माण गरिएका छन् । तर अधिकांशको सरकारको पछिल्लो निर्णयअनुसारको स्तरोन्नति भने हुन सकेको छैन् । जसकारण क्वारेन्टाइनमा बस्नेहरु एकापसमै आशङ्का र सर्तकताका साथ दिन विताइरहेका छन् ।

सदरमुकाम स्थित जिल्ला अस्पताल सहित निजी क्षेत्रका समर्पित र पाथीभरा अस्पतालमा गरी २३ बेडको आइसोलेसन कक्ष पनि सञ्चालनमा छन् । क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थानीय तहहरुले ब्यवस्थापन गरिरहेका छन् ।

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङका अनुशार नगरपालिकाले सदरमुकाम क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण रोकथाम, सतर्कता, पूर्वतयारी तथा प्रतिकार्यका काममा करीब रु. ८ लाख खर्च गरिसकेको छ भने राहत वितरणमा रु. ७ लाख ५० हजार खर्च भइसकेको छ ।

“विपत ब्यवस्थापन कोषबाट रकम खर्च गर्दै आएका छौँ । लकडाउन लम्बिए राहतका लागि ठूलो धनराशी खर्च गर्न कठीन पर्नसक्छ” नेम्वाङले भन्नुभयो । यहाँका स्थानीय तहहरुले विपत ब्यवस्थापन तथा कोरोना रोकथाम कोष खडा गरी रकम खर्च गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्