पाँचथरमा तरकारी आयातमा रोक, रातको समयमा नाकाहरु सिल



फिदिम । कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ ।

जिल्ला स्तरीय आपूर्ति ब्यवस्था अनुगमन, सहजिकरण तथा नियन्त्रण समितिको सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यालयले आइतवारबाट तरकारी आयातमा रोक लगाएको हो ।

प्रशासनले स्थानीय स्तरमा तरकारी उत्पादन तथा आपूर्ति ब्यवस्था सहज बनाउने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिनुभयो । झापा सहित पूर्वी तराईका जिल्लाहरुबाट हुने तरकारीको आयात सङ्क्रमण विस्तारका दृष्टिले जोखिमयुक्त देखिएपछि रोक लगाइएको न्यौपानेले वताउनुभयो ।

यस्तै जिल्ला स्तरीय सङ्कट ब्यवस्थापन समितिको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन रातको समयमा जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको छ ।

रातको ९ बजेदेखि विहान ६ बजेसम्म जिल्लाका नाकाहरु राँके, काबेली, छ नम्बर बुधबारे र माझीटार सिल गर्ने उक्त बैठकले निर्णय गरेको सहायक प्रजिअ न्यौपानेले वताउनुभयो । नाकाहरुमा दिउँसोको समयमा समेत उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्