

फिदिम । उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको संख्या लगातार बढेर २४ पुगेको छ ।
त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो ।
साँझ थप १० जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् । तीमध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन् ।
योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ४२ पुगेको छ । वीरगञ्जमा गत साता तीनजनामा सङ्क्रमण पुष्टि भएको र लगत्तै उदयपुरमा धेरै संख्यामा पुष्टि भएपछि ती दुई स्थानलाई लक्षित गरेर सङ्क्रमणको परीक्षण दायरा फराकिलो पारिएको अधिकारीहरूले बताएका थिए ।
ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको थियो । वीरगञ्जमा २२१ जना र उदयपुरमा ३२० जनाको पीसीआर विधिमार्फत् अनि अन्यको द्रुत विधि आरडिटीमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । (बीबीसी नेपालीबाट)