

फिदिम, ८ वैशाख
लकडाउनको मौका छोपी हुनसक्ने वन तथा वन्यजन्तुको चोरी, शिकारी तथा नोक्सानी रोक्न यहाँका वनका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराइएको छ ।
स्वास्थ्य सुरक्षा उपकरणको अभावमा कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्नसक्ने भएकाले वनका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराइएको हो । यस्तै सुरक्षा उपकरणको अभावमा वन रक्षकहरु वन संरक्षणमा सक्रिय हुन त्रास मानिरहेका थिए ।
पाँचथरका वन रक्षकहरुलाई वन तथा भू–संरक्षण विभागले मास्क, सेनिटाइजर, पञ्जा, हेण्डवास लगायत स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराएको हो । विभागले डिभिजन वन कार्यालय पाँचथरबाट यी सामग्री यहाँका वन रक्षकहरुलाई उपलब्ध गराएको हो ।
लकडाउनको मौका छोपी वन तथा वन्यजन्तुको चोरी, शिकारी तथा नोक्सानी बढ्नसक्ने हुँदा कर्मचारीहरु २४ सै घण्टा वन संरक्षणको काममा सक्रिय हुनुपर्ने भएकाले देशैभर उनीहरुलाई स्वास्थ्य सुरक्षा उपलकरण उपलब्ध गराइदै आएको वन विभागका सहायक वन अधिकृत उत्तम चापागाईंले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय पाँचथरका प्रमुख दानबहादुर श्रेष्ठले सुरक्षा उपकरणको उपलब्धताले वनका कर्मचारीहरुलाई काममा खटाउन सहज भएको वताउनुभयो ।