मन्त्री नेम्वाङद्वारा गृह जिल्लामा स्वास्थ्य सुरक्षा उपकरणको प्रवन्ध



फिदिम, ८ वैशाख

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गृहजिल्ला पाँचथरमा अत्यावश्यक स्वास्थ्य सुरक्षा उपकरणको प्रवन्ध गर्नुभएको छ ।

मन्त्री नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरको समन्वयमा कोभिड–१९ को सतर्कता, परीक्षण र उपचारमा आवश्यक पर्ने सामग्रीको प्रवन्ध मिलाउनुभएको हो ।

मन्त्री नेम्वाङको पहलमा २७ थान ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ३३ थान थर्मलगन, ३४ हजार थान सर्जिकल मास्क, ११० थान सेनिटाइजर जिल्लामा उपलब्ध भएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।

सबै सामग्री मन्त्री नेम्वाङले ब्यक्तिगत पहल तथा लागतमा जिल्लामा पठाउनुभएको हो । स्वास्थ्य सुरक्षा सामग्रीहरु आजैबाट स्वास्थ्य संस्था र स्थानीय तहहरुलाई वितरण थालिएको अध्यक्ष भण्डारीले वताउनुभयो ।

पाँचथरमा थर्मलगनको अभाव थियो । सिमित संख्यामा मात्रै थर्मलगन हुँदा कोभिड–१९ सँग लक्षण मिल्ने विरामीको तापक्रम लिन समेत एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्ने अवस्था थियो । अब थर्मलगन अपुग भएका स्थानमा पु¥याउने प्रवन्ध मिलाइने अध्यक्ष भण्डारीले वताउनुभयो ।

पिपिई जिल्ला अस्पताल सहित जिल्ला स्थित दुई निजी अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग गरिने भएको छ । केही थान भने स्वास्थ्य कार्यालयले मौज्दातमा राखेको छ ।

ठूलो संख्यामा प्राप्त भएका मास्क वडा स्तरमा वडा कार्यालय र नेकपाको पार्टी कमिटीले कमजोर आर्थिक अवस्थाका परिवारलाई वितरण गर्ने नेकपा अध्यक्ष भण्डारीले वताउनुभयो । स्वास्थ्य सामग्रीको उपलब्धताले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेका विरामीहरुको मनोबलमा वृद्धि हुने नेकपाको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्