उदयपुरमा भेटिएका सबै सङ्क्रमितको आरडिटी नतिजा नेगेटिभ थियो



विराटनगर, ६ वैशाख

उदयपुरको भुल्केस्थित मस्जिदमा भेटिएका कोरोना संक्रमित सबैको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) मा नेगेटिभ नतिजा आएको खुलेको छ ।

सरकारले चीनबाट ल्याएको र्‍यापिड डायग्नोष्टिक टेस्ट किटको विश्वसनीयताबारे प्रश्न उठिरहेको बेला उदयपुरको घटनाले सबैलाई झस्काएको छ । आरडिटीमा नेगेटिभ देखिएकाहरु संक्रमित पुष्टि भएसँगै यसअघि आरडिटी गरेर क्वारेन्टाइनबाट घर पठाइएकाहरुको पनि स्वाब कलेक्सन गरी पिसिआर परीक्षण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

उदयपुरको त्रियुगा २ भुल्केको मस्जिदमा १२ भारतीय र ४ नेपाली बसिरहेको भेटिएपछि गत मंगलबार र्‍यापिड टेस्ट गरिएको थियो । टेस्टमा नतिजा नेगेटिभ आएपछि थप यकिन गर्न सबैको स्वाब संकलन गरेर पठाउदा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । र्‍यापिड किटबाट गरिएको परीक्षणले सहि नतिजा नदिएपछि अब सबैं शंकास्पदको स्वाब नै परीक्षण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

र्‍यापिड टेस्ट गर्दा नेगेपटिभ देखिएकाहरुको प्रयोगशालामा पोजेटिभ नतिजा आएपछि उदयपुरको भुल्केबासी त्रसित छन् । स्थानीय यदु ढकालले कोरोना संक्रमित मस्जिदका मुस्लिमहरुहरुको स्थानीयसँग पनि सम्पर्क भएकोले उनीहरुको स्वाब नै परीक्षण गर्नुपर्ने बताउनुभएको छ । स्थानीयले र्‍यापिड टेस्टको औचित्य नभएको बताएका छन् ।

मस्जिदमा रहेका १६ मध्ये ४ जनाको भने र्‍यापिड र पिसिआर दुवै परीक्षणमा नेगेटिभ देखिएको छ । यद्यपी चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

भुल्के मस्जिदमा भेटिएका संक्रमितमा कुनैपनि लक्षण समेत देखिएको छैन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा शुक्रबार राति भर्ना गरिएकाहरुमा कुनै पनि लक्षण नभएकोले चिकित्सकको निगरानीमा राखिएको छ । कोरोनाको कुनै औषधि नभएकोले लक्षणका आधारमा औषधि दिएर उपचार गर्ने गरिन्छ ।

यसअगाडि नै चीनबाट ल्याइएका र्‍यापिड टेस्ट किटको गुणस्तरमा विज्ञहरूले प्रश्न तेस्र्याएका थिए । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको किट प्रयोग गरिएको भन्दै आलोचना भएपछि सरकारले देशब्यापी रुपमा सो किट पठाएर क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दै घर पठाएको छ ।

त्यसो त र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका झापा र मोरङका २ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आउको छ । गत चैत २५ गते वीरगन्जबाट कैलाली पुगेका एक महिलाको पनि र्‍यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखाएकोमा स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो ।

र्‍यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने विज्ञहरूले बताएका छन् । संक्रमित व्यक्तिको शरिरले आइजिम एण्टीबडी २÷३ दिनमा उत्पादन गर्ने दुई सातामा त्यो हराएपछि आइजिजी भन्ने एन्टिबडी उत्पादन गर्ने बताइन्छ । त्यसैले त्यसैले आइजिएम पोजेटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको रआइजिजी पोजेटिभ देखायो भने कोरोना संक्रमण भएर निको भएको मानिन्छ ।

कोरोनालाई शरिरले परास्त गरेपनि आइजिजी एन्टिबडी लामो समयसम्म रहिरहने भएकोले र्‍यापिड टेस्ट गर्दा पोजेटिभ तर पिसिआरमा नेगेटिभ देखिने बताइन्छ । तर, उदयपुरको मस्जिदमा एक महिना अगाडि नै पुगेकाहरुमा र्‍यापिड टेस्टले नेगेटिभ देखाएपछि चिकित्सक नै अलमलमा परेका छन् ।

चिकित्सकहरुले यस्ता किटको विश्वसनीयता नहुने भन्दै कोरोना यकिन गर्न स्वाब परीक्षणको दायरा नै बढाउनुपर्ने सुझाब सरकारलाई दिँदै आएका छन् । सरकारले सात करोड बढी रकम खर्चेर चीनबाट ७५ हजार यस्ता किट ल्याएको छ ।(हाम्रोमत डटकमबाट)

प्रतिक्रिया दिनुहोस्