नेपालमा एकै दिन १४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, सङ्क्रमित संख्या ३०



फिदिम, ५ वैशाख

नेपालमा शुक्रवार १३ जना पुरुष र १ महिलामागरी थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अद्यावधिक विवरणसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको व्यक्तिको संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धि सूचना सम्प्रेषण गर्न सन्चालन गरेको भाइबर ग्रूपमा राखिएको सन्देशमा भनिएको छः “हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएकामा १४ जना सङ्क्रमित उदयपुर जिल्लामा भेटिएका १२ जना पुरुष छन् भने चितवन जिल्लामा एक पुरुष र एक महिला गरी दुई जना रहेका छन् ।

उदयपुरमा भेटिएका १२ जना सङ्क्रमितहरू सबै नै भारतीय नागरिकहरू रहेका प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिएका छन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।

संक्रमितहरु उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको ¥यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

संक्रमित छुट्याउन सकस

उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ जनाको पहिचान गर्न समस्या भएको छ । त्यसैले स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर पठाएको छ ।

‘नाम नामेसी प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भयो’ उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले भने, ‘त्यसैले १६ जनालाई एम्बुलेन्समा हालेर पठाउँदैछौं ।’

सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको प्रजिअ पहाडीले बताए । त्यसैले १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

साथै उनीहरुको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ । ‘१० दिन उदयपुरकै अर्काे मस्जिदमा र ३० दिनयता अहिले भेटिएको मस्जिदमा बसेको बताएका छन्’ उनले भने ‘हामी ट्राभल हिस्ट्री खोज्दैछौं ।’

कोरोना अस्पतालमा राखिने

उदयपुरबाट ल्याइने कोरोना संक्रमितलाई विराटनगरको कोरोना अस्पतालमा राखिनेछ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएका १२ जनालाई विराटनगरमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा राखिने भएको हो ।

अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्नेछ । ‘उहाँहरु उदयपुरबाट हिँडिसक्नु भएको छ’ मन्त्री घिमिरले भने, ‘कोरोना अस्पतालमा राखेर उपचार गर्छाैं ।’ एकै दिन ठूलो संख्यामा सङ्क्रमित भेटिएपछि प्रदेश नं. १ समेत त्रास बढेको छ । (बीबीसी नेपाली तथा अनलाइनखवरबाट साभार)

प्रतिक्रिया दिनुहोस्