तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने



मेलम्ची, ४ वैशाख (रासस)

तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् ।

चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरू त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेपनि अहिले समझदारीमा आएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।

“खाद्यान्न ल्याउनुपर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ”, वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो ।

मेलम्चीमा यातायातमा रोक

हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानीसहितको यातायातमा रोक लगाएको छ । अत्यावश्यकबाहेकको यातायात सञ्चालनमा रोक र अनावश्यक हिँडडुल गर्न नदिने भएको हो । कोरोना सङ्क्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु–४ का वडाध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

हेलम्बु प्रवेशद्वार तालामराङबाट हेलम्बु प्रवेशमा हिँडडुुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, सञ्चार, एम्बुलेन्स, तरकारीका र पासबाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ । बिहान ६ बजे बाट ९ र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न र तरकारी पसल मात्र खुल्न अनुमति दिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । अहिले खानेपानीको अत्यावश्यक गाडी चलाउने विषयमा गाउँपालिकामा वार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्