पाँचथरमा १२९ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण सम्पन्न



फिदिम, ३ वैशाख

पाँचथरमा १२९ जना ब्यक्तिको शीघ्र डाइग्नोष्टिक परीक्षण सम्पन्न भएको छ । विदेशबाट आएका, उनीहरुको सम्पर्कमा पुगेका तथा कोभिड–१९ सँग लक्षण मिल्ने ब्यक्तिहरुको डाइग्नोष्टिक परीक्षण गरिएको हो ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु सम्मिलित टोलीले जिल्लाका आठ वटै स्थानीय तहहरुमा पुगेर डाइग्नोष्टिक परीक्षण गरेको हो ।

परीक्षणबाट सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । यस्तै डाइग्नोष्टिक परीक्षण गरिएका ११ जनाको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि विराटनगर लगिएको उक्त कार्यालयले जनाएको छ ।

चैत १ गतेयता विदेशबाट नेपाल आई क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु तथा तिनको सम्पर्कमा पुगका ब्यक्तिहरु र कोभिड–१९ सँग लक्षण मिल्ने विरामीहरुको शीघ्र डाइग्नोष्टिक परीक्षण गरिएको हो । परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली क्वारेन्टाइनमा पुगेको थियो ।

दुई साता क्वारेन्टाइनमा बसिसकेका ब्यक्तिहरु तथा सङ्क्रमणको आशङ्का गरिएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमै ल्याई परीक्षण गरिएको थियो । शनिवार सुरु भएको शीघ्र डाइग्नोष्टिक परीक्षण सोमवार सम्पन्न भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

यहाँको फिदिम नगरपालिकामा आठ जना, फाल्गुनन्द गाउँपालिकामा नौ जना, मिक्लाजुङमा २४ जना, तुम्बेवामा १५ जना, कुम्मायक १७, याङवरकमा १९ जना, हिलिहाङमा २४ जना र फालेलुङमा १३ जनाको शीघ्र परीक्षण सम्पन्न भएको हो । शीघ्र परीक्षण सम्पन्न भएपछि क्वारेन्टाइनमा दुई साता विताएका ब्यक्तिहरुलाई घर पठाइएको छ ।

उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न तथा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहन भनिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो । उनीहरुको निगरानी गर्ने जिम्मेवारी नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको छ ।

दुई साता विताएका ब्यक्तिहरुलाई घर पठाइएपछि अधिकांश क्वारेन्टाइनहरु खाली भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले शीघ्र परीक्षणबाट सबैको नतिजा नेगेटिभ आएपनि अझै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको वताउनुभयो ।

उहाँले विगतमा विभिन्न स्थानको यात्रा गरेका ब्यक्तिहरु तथा सङ्क्रमणको शंका लागेका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण आवश्यक रहेको वताउनुभयो । सापकोटाले सीमा क्षेत्रमा कडाई र लकडाउनको पूर्ण पालनाका लागि सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्