दुई पटक र्‍यापिड टेष्ट गर्दा झापामा एक व्यक्तिमा देखियो कोरोना सङ्क्रमण



झापा, ३ वैशाख

र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापामा एक युवकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

होम क्वारेन्टाइनमा बसेका ती युवकको स्वास्थ्य शाखा हल्दिबारीको टोलीले बुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थियो । स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ । ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन् ।

आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । युवकमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकामा त्रास फैलिएको छ । “आरडिटीमा कोरोना पोजेटिभ देखिए पनि आत्तिनु र्ने केही छैन” गाउँपालिकाका अध्यक्ष लिङ्देनले भन्नुभयो ।

गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ । त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ ।

यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ । उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ । दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए । उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ । (थाहाखवर डटकमबाट)

प्रतिक्रिया दिनुहोस्