

विराटनगर, ३ वैशाख
प्रदेश १ सरकारले विभिन्न १० वटा शीर्षकमा रहेको ५ अर्ब रहेको बजेट खर्च गर्न रोक लगाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार भ्रमण, अध्ययन भ्रमण, अनुगमन, सेवा परामर्श, कम्प्यूटर, सवारीसाधन र फर्निचर लगायतका शिर्षकमा छुट्याएको बजेट खर्च गर्न रोक लगाइएको हो ।
चालु आर्थिक वर्षको बजेटमा ती शिर्षकमा करिब ५ अर्ब बजेट रहेकोमा केही खर्च भएकोमा अब भने कुनै खर्च नहुने मन्त्री आङ्बोले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम नियन्त्रण नभइरहेको बेला सरकारले ती बजेट खर्च गर्न रोक लगाएको हो ।
यद्यपी प्रदेश सरकारसँग अहिले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि बजेटको समस्या नरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्री आङ्बोले बताउनु भएको छ । कतिपयले सांसद विकास कोषको रकम कोरोना भाइरसको कोषमा खर्च गर्नुपर्ने भनेर आवाज उठाए पनि त्यो सान्दर्भिक नरहेको उहाँको भनाइ छ । ‘हामीले ९ महिना अघिदेखि नै काम अघि बढाईसकेका छौँ, अब केही काममात्रै बाँकी छ’ उहाँले भन्नुभयो, ‘त्यसैले यो सान्दर्भिक छैन ।’
भारतमा दुई महिनाअघि मात्रै बजेट आएको र त्यो कार्यान्वयन हुन लागेको अवस्थामा रहेकाले भारतमा जसरी नै नेपालको बजेट परिचालन हुनुपर्छ भन्ने तर्क जायज नभएको मन्त्री आङ्बोको भनाइ छ । ‘हामी नौं महिना कटिसकेका छौ, उनीहरु दुई महिनामा छन्, त्यसैले भारतसँग तुलना गरेर सरकारलाई अनावश्यक रुपमा गाली गर्न हुँदैन,’ उहाँले भन्नुभयो ‘हामी हाम्रो धरातलमा रहेर काम गर्नुपर्छ ।’ (हाम्रोमत डटकमबाट साभार)