कोरोना जनसुरक्षा कोषमा १५ करोड थप



विराटनगर, ३ वैशाख

प्रदेश नं. १ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ ।

प्रदेशको विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रीपरिषदको बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको बताउँदै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश सरकारले आजै राती १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसँग सिफारिस गर्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेशको आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको बिधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिएको छ ।

प्रदेश सरकारले कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरण सम्बन्धी निर्देशिका जारी गर्ने, मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समितिमा नेतृत्वविहीन भएको भन्दै त्यस कार्यालय सञ्चालनका लागि चाहिने आवश्यक काम गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सोलुखुम्बुको खम्बु पासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई ५ लाख र क्यान्सरपीडित पत्रकार कमल पौडेललाई ३ लाख रुपैयाँ उपचारका लागि आर्थिक सहायता दिने पनि निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । (हाम्रोमत डटकमबाट)

प्रतिक्रिया दिनुहोस्