वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



फिदिम, २ वैशाख

सरकारले जारी लकडाउनलाई बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्ने निर्णय गरेको छ । सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ ।

बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा मन्त्रिपरिषद् बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ बैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइसकेका छन् ।

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याइएको एक मन्त्रीले जानकारी दिए । विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

त्यस पछि दुई पटक थपिएको लकडाउनको समय बुधबार सकिन लागेको अवस्थामा १२ दिन थपिएको हो । हिजो र आज मात्रै नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन् ।

कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा समेत दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनलाई लम्ब्याउने निर्णयसहित थप कडाइ गर्ने नीति लिएको हो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको छ । पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको संक्रमण अहिले देशका विभिन्न जिल्लामा देखिएको छ ।

मोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश–२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन् । एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।

तीव्रगतिमा कोरोना फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाख अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याउने घोषणा गरेका छन् । भारतसँग खुल्ला सिमाना भएको नेपालमा पनि अझै उच्च सतर्कता बढाउन लकडाउन थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्