‘बेलायतबाट आएदेखि अपार्टमेन्टमा बस्यौं, बाहिर कतै पनि गएका छैनौं’



फिदिम, २ वैशाख

गत चैत ५ गते बेलायतबाट नेपाल आएपछि हामी सिधै पेप्सीकोलास्थित आफ्नो अपार्टमेन्टमा गयौं । उताबाट श्रीमान, सासुआमा र म आएका थियौं ।

बाहिरबाट आएकोले हामी १४ दिन क्वारेन्टाइनमै बसेका थियौं । त्यहीबीचमा लकडाउन भयो, बाहिर हिँड्ने कुरै भएन । पछि समाचारहरूमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्नेजस्तो कुरा आएपछि हामी फेरि कोठामै बस्यौं ।

हिजो विदेशबाट आएकाको जाँच गर्ने कुरा आयो । हामी पनि तीनै जना जाँच गर्न गयौं । र्यापिड टेस्टमा सबैको पोजेटिभ देखियो ।

त्यसपछि हामीलाई सिधै पाटन अस्पताल ल्याइयो । अस्पतालबाट तीनै जनाको स्वाब पुनः परीक्षणको लागि पठाइयो ।

आज श्रीमान् र आमाको नतिजा पोजेटिभ आयो भन्ने हामीले पनि समाचारहरू हेरेर थाहा पायौं । हामीलाई आधिकारिक रूपमा कसैले पोजेटिभ नतिजाबारे भन्नुभएको छैन ।

अहिले हामी सबै आइसोलेसनमा छौं । सबैलाई एकदम आराम छ । आमा मज्जाले सुतिरहनुभएको छ। श्रीमान पनि गफ गरेर बसिरहनु भएको छ । हामी कसैलाई पनि अफ्ठ्यारो महशुस भएको छैन ।

बिहान खाजा खायौं । दिउँसो १ बजे खानामा दाल, भात, तरकारी खायौं । खाना खाजा सबै अस्पतालले नै व्यवस्था गरेको छ ।

सबैकुरा राम्रो छ । हामीलाई त आइसोलेसन कस्तो हुन्छ त्यो पनि थाहा थिएन । आज यहाँ आएर हेर्दा त सबै राम्रै पाइयो । पानी, मास्क, पञ्जा सबै दिनुभएको छ । हामी कसैलाई पनि ज्वरो, रूघाखोकी केही पनि छैन। सबैलाई ठीकै छ ।

बेलायतबाट आएको यत्रो दिनमा कसरी संक्रमण देखियो भनेर हामी नै चकित छौं । अहिले अस्पतालमा हुँदा पनि कसैलाई केही गाह्रो भएको छैन । हामी त मज्जाले बसिरहेका छौं । अलिक बाहिर आएको खबरले चिन्तित बनाएको छ ।

हामी आएर बाहिर घुम्यौं भन्ने समाचारहरू आएछ तर त्यस्तो हैन । हामीलाई पनि यस्तो संकटमा के गर्नुपर्छ भनेर थाहा छ । हामीलाई पनि आफ्नो स्वास्थ्य र परिवारको चिन्ता हुन्छ ।

हामी बेलायतबाट आएदेखि आफ्नै अपार्टमेन्टमा छौं । कतै पनि बाहिर गएका छैनौं । संक्रमण भएपछि अलिकति के हुने हो भनेर चिन्ता त हुन्छ नै तर त्यस्तो डराएका छैनौं । सबैजना सचेत भएर बसेका छौं ।

(लन्डनबाट फर्किएर कोरोना संक्रमित श्रीमान् र सासुसँग आइसोलेसनमा रहेकी महिलासँग सेतोपाटी डटकमका विवेक राईले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्