कोरोना सङ्क्रमितको संख्या १६ पुग्यो



फिदिम, २ वैशाख

र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीनजना मध्ये दुईजनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

पाटन अस्पताल भर्ना गरिएकामध्ये ५८ वर्षीय छोरा र ८१ वर्षीया आमामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । यस्तै ५२ वर्षीया बुहारीको रिपोर्ट भने पोजिटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ ।

उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए । ८१ वर्षीया आमा, ५८ वर्षीय छोरा र ५२ वर्षीया बुहारीलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । नगरप्रमुख कृष्णहरि थापाका अनुसार पनि चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो ।

पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन । सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ५ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन् ।

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयले फेसबुक पेजमार्फत सो अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोेना पुष्टि भएपछि निजहरुको सम्पर्कमा आएका व्यक्तिको तथ्य संकलन गरिरहेको जनाएको हो । अपार्टमेन्टमा बस्ने २ जनामा पीसीआर परीक्षणबाटै कोरोना पुष्टि भएपछि उक्त अपार्टमेन्ट अहिले सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्