

फिदिम, १ वैशाख
प्रदेश नं. १ कि प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि शीघ्र डाइग्नोष्टिक परीक्षण गर्ने टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनहरुमा पुग्नुभएको छ ।
चैत १ गतेयता विदेशबाट फर्केर क्वारेन्टाइनमा रहेका तथा विगतमा क्वारेन्टाइनमा बसिसकेका ब्यक्तिहरुमा कोभिड–१९ सङ्क्रमणको जाँचका लागि स्वास्थ्यकर्मीको टोली लिएर उहाँका यहाँका विभिन्न चार वटा क्वारेन्टाइनमा पुग्नुभएको हो ।
प्रदेश नं. १ सरकारले शनिवार पाँचथरका लागि २०० थान शीघ्र डाइग्नोष्टिक परीक्षण किट सहित स्वास्थ्यकर्मीको टोली पठाएको थियो । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासले सङ्क्रमणको आशङ्का गरिएका ब्यक्तिहरुको परीक्षण गर्न डराइरहेका स्वास्थ्यकर्मीलाई हौसला दिन प्रदेशसभा सदस्य थेबे आइतवार आफैँ क्वारेन्टाइनहरुमा पुग्नुभएको हो ।
प्रदेशसभा सदस्य थेबे स्वास्थ्यकर्मीको टोली लिएर आइतवार फिदिम नगरपालिका तथा हिलिहाङ र फालेलुङ गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुमा पुग्नुभएको थियो ।
यस क्रममा फिदिममा बजार स्थित फिदिम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका आठ जना, फालेलुङ गाउँपालिकाको पाथीभरा कृषि सहकारीको भवन र पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका १३ जना तथा हिलिहाङ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा रहेको क्वारेन्टाइनमा रहेका २४ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण गरिएको थियो ।
परीक्षणबाट उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित परीक्षण टोलीलाई हौसला दिन आइतवार दिनभरी प्रदेशसभा सदस्य थेबे परीक्षण कार्यमा सघाउ पु¥याउन ब्यस्त रहनुभयो ।
“सङ्क्रमणको सन्त्रासले हामी आफैँ पनि असुरक्षित महशुस गरिरहेका थियौँ । तर माननीय ज्यू आफैँ हामीलाई लिएर हिँडेपछि ढुक्कले काम गर्न पाइयो”, परीक्षण टोलीमा रहेका स्वास्थ्यकर्मी प्रमोद गौतमले भन्नुभयो । जनप्रतिनिधिबाट यस प्रकारको सहयोग सबै जिल्लामा प्राप्त हुनसके प्रदेश सरकारको लक्ष्यअनुसार पहिलो चरणमा द्रूत गतिमा शीघ्र डाइग्नोष्टिक परीक्षण सम्पन्न गर्न मद्दत पुग्ने गौतमको भनाई छ ।
क्वारेन्टाइनमा दुई साता विताएर घर फर्केका ब्यक्तिहरुलाई परीक्षणका लागि पुनः तयार पार्न सांसद् तथा जनप्रतिनिधिहरुको उपस्थितिले ठूलो सहयोग पुगेको जिल्लाको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले वताउनुभयो ।
पाँचथरमा शनिवार सुरु भएको शीघ्र डाइग्नोष्टिक परीक्षण सोमवार सम्पन्न हुँदैछ । “सबैमा सङ्क्रमणको भय छ । स्वास्थ्यकर्मीहरु आफैँ डराइरहनुभएको पाएपछि उहाँहरुलाई साथै लिएर क्वारेन्टाइनहरुमा पुगेकी हुँ”, प्रदेशसभा सदस्य थेबेले भन्नुभयो, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाएमात्र यो महामारीबाट बच्न सकिन्छ ।”
प्रदेशसभा सदस्य थेबेले क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई समस्याका बावजुत सरकारलाई सघाएको भन्दै धन्यवाद दिनुभयो । सांसद्बाट धन्यवाद पाउँदा आफू दङ्ग परेको र स्वास्थ्यकर्मी भई सेवा गरेवापत अत्यन्तै खुशी लागेको जिल्लाको फालेलुङ गाउँपालिकाको क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मी धनकुमारी राईले वताउनुभयो ।
पाँचथरमा स्वास्थ्यकर्मीहरुको दुई वटा टोलीले शनिवार, आइतवार र सोमवार शीघ्र परीक्षणको काम गर्दैछ । एक टोलीलाई प्रदेशसभा सदस्य थेबेले अगुवाई गर्नुभएको थियो भने अर्को टोली स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा शीघ्र परीक्षणमा खटिएको छ ।
आइतवार साँझसम्म जिल्लामा विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका, विगतमा दुई हप्ता क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा रहेका तथा उनीहरुको सम्पर्कमा आएका ७९ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ ।