नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुग्यो



फिदिम, १ वैशाख

वीरगञ्ज हुँदै कैलाली पुगेकी एक ६५ वर्षीय महिला र रौतहट जिल्लामा क्वारन्टाइनमा रहेका एक १९ वर्षीय युवकमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल १४ जनामा कोभिड–१९ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले दुवैको उपचार प्रकिया अघि बढाइएको जानकारी दिए । उनले दुवै सङ्क्रमणसँग जोडिएका ‘कन्ट्याक्ट ट्रेसिङ’ अघि बढाइएको जानकारी दिए ।

त्यसअघि वीरगञ्जबाट आएकी एक महिलामा गरिएको नमुना परीक्षणमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि उनको स्वास्थ्य उपचार थालिएको सेती प्रादेशिक अस्पतालले जनाएको थियो ।

अस्पतालका वरिष्ठ इमर्जेन्सी विशेषज्ञ तथा प्रवक्ता डाक्टर जगदिश जोशीले कैलालीको लम्कीमा १२ दिन क्वारन्टीनमा बिताएर घर गएकी ती महिला अस्पताल भर्ना भएको जानकारी दिए । उनका अनुसार स्वाब परीक्षणको नतिजाले कोभिड–१९ पोजेटिभ देखाएको थियो ।

यो सँगै उक्त प्रदेशमा कोभिड–१९ को पाँच वटा सङ्क्रमण देखा परेका छन् । कैलालीमा ती महिलासँगै आएका मानिसहरूको सम्पर्कमा पुगेका र भारतबाट नेपाल भित्रिएका गरि करिब ४०० जनाको परीक्षण र नमुना सङ्कलन भइरहेको एक जना स्थानीय अधिकारीले बताएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईँले बीरगञ्जबाट लम्की आएका १८ जनाको पीसीआर विधिबाट गरिएको जाँचमा १ जना वृद्धामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बीबीसीलाई जानकारी दिए ।

उनले भने, “उहाँसँगै आएका १७ जनाको पीसीआर र र्यापिड टेष्ट दुवै विधिबाट जाँच गरेका थियौँ । र्यापिड जाँचको विधिबाट सङ्क्रमण नदेखिएपछि क्वारन्टीनस्थलबाट घर पठाइएको थियो । तर अहिले पीसीआर विधिको जाँचबाट एक जनामा सङ्क्रमण देखिएपछि उहाँहरू र उहाँसँग सम्पर्कमा आएका गरी करिब ४० जनालाई क्वारन्टीनमा राखेका छौँ ।”

उनले सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था ‘सामान्य’ रहेको र उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जानकारी दिए । प्रादेशिक निकायबाट आएका स्वास्थकर्मीले वीरगञ्जबाट आएको समूहसँग सम्पर्क गरेकाले क्वारन्टाइनमा राखिएका र भारतबाट आएका सहित शङ्का लागेका विभिन्न ४०० जनाको लम्कीमा परीक्षण सोमबारबाट अघि बढाएको उनले जानकारी दिए ।

यसअघि नेपालमा पहिलो पटक समुदाय स्तरमा सरेको भनिएको कोरोना भाइरसको सङ्क्रमण पनि कैलालीमै देखिएको थियो । कैलालीमा उनी सहित चार जना र कञ्चनपुरमा एक जना गरी सुदुरपश्चिम प्रदेशमा पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

आइतवारमात्रै स्वास्थ्य मन्त्रालयले वीरगञ्जको छपकैयास्थित मस्जिदमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड–१९ भेटिएको बताएको छ । उनीहरू तीनै जना भारतीय नागरिक भएको अधिकारीहरूले पुष्टि गरेपनि उनीहरूले नेपालमा कहाँ कहाँ यात्रा गरे र उनीहरूले कस्ता कस्ता सम्पर्क कायम गरे भन्ने खुलिसकेको छैन् ।

३७, ५५ र ४४ वर्षका ती पुरुषहरूको हाल नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा एक्ल्याएर उपचार भइरहेको छ । उनीहरूसँग सम्पर्क कायम गरेका भनिएका पर्सा जिल्लामा विभिन्न मस्जिदमा रहेका २८ जनाको परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए ।

त्यसबाहेक छपकैया टोलका ५९ जनाको र्यापिड कीटबाट जाँच गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको उनले बताए । कैलाली र रौतहटका पछिल्ला सङ्क्रमणसँगै नेपालमा हाल कोभिड–१९ देखिएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैभन्दा पहिला सङ्क्रमण देखिएका भनिएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विदेशबाट आएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना आशंकमा जाँच गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्