कोरोनाविरुद्धको संघर्षमा सफलता मिल्नेछः अध्यक्ष प्रचण्ड



फिदिम, १ वैशाख

सत्ता सञ्चालक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ले नयाँ वर्षमा कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत गर्नुभएको छ ।

यस्तो छ अध्यक्ष प्रचण्डको शुभकामना सन्देश

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।

सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।

यस सन्दर्भमा म आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील पनि गर्दछु ।
१ बैशाख, २०७७

प्रतिक्रिया दिनुहोस्