अनिकालमा भाँडा बज्दा रडाको मच्चिएको ठान्नु भूल होः प्रधानमन्त्री ओली



फिदिम, १ वैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अप्ठेरो घडीमा पनि विचलित नहुन आम नागरिकलाई अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ “अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ ।

गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ ।”

देश कोरोना मुक्त नहुँदासम्म प्रधानमन्त्री ओलीले तलब नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गर्नुभएको छ । नयाँवर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिएको बताउँदै प्रधानमन्त्री ओलीले ती सबै सुझावमा प्रधानमन्त्रीको ध्यान गएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्