पाँचथरमा कोरोना भाइरसको शीघ्र परीक्षण सुरु



फिदिम, ३० चैत

कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण (¥यापिड डाइग्नोष्टिक टेष्ट) सुरु भएको छ ।

प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि शनिवारबाट शीघ्र परीक्षण सुरु गरिएको हो । शनिवार अबेर किट आइपुगेकाले आठ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा रहेको क्वारेन्टाइनमा बसेका सात जना तथा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका एक जना गरी आठ जनाको शीघ्र परीक्षण सम्पन्न भएको हो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

पाँचथरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट दुई जना तथा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी शीघ्र परीक्षण कार्यमा सहभागी भएका छन् । आइतबाट भने दुई वटा टोली निर्माण गरी क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका ब्यक्तिहरुको शीघ्र परीक्षण गरिने सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेश नं. १ का सबै जिल्लामा शीघ्र परीक्षणको प्रवन्ध मिलाइएको हो । यसका लागि शनिवार तथा आइतवारबाट सबै जिल्लामा परीक्षणको काम सुरु गर्ने तयारी गरिएको छ ।

पाँचथरमा भने सोमवारसम्ममा क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका ब्यक्तिहरुको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको आङ्बोले जानकारी दिनुभयो ।

प्रदेश सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआर विधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिरहेको छ । प्रदेश सरकारले एक हप्ता आसपासमा पाँच हजार ब्यक्तिको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्री आङ्बोले वताउनुभयो ।

शीघ्र परीक्षण गरी नेगेटिभ नतिजा आएका ब्यक्तिहरुलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरी क्वारेन्टाइनबाट पठाइने गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुवेदीले वताउनुभयो । शीघ्र परीक्षण विधिबाट बढीमा पाँच मिनेटमा एक ब्यक्तिको डाइग्नोष्टिक परीक्षण पूरा हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

शीघ्र परीक्षणपछि क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु तथा तिनका परिवार र स्वास्थ्यकर्मीहरुमा रहेको त्रास कम हुने सरकारी निकायको विश्वास छ । पाँचथरमा शनिवार साँझसम्म ६० जना विदेशबाट आएका ब्यक्तिहरु तथा तिनको सम्पर्कमा आएका परिवारका सदस्य क्वारेन्टाइनमा रहेका छन् ।

सङ्क्रमित युवतीसँगै आएका युवाको नतिजा नेगेटिभ

फ्रान्सबाट आएकी कोरोना भाइरस सङ्क्रमण भएकी युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका यहाँका दुई युवाको नतिजा पनि नेगेटिभ आएको छ । जिल्लाको फिदिम नगरपालिका–६ का एक जना तथा फाल्गुनन्द गाउँपालिका–१ का एक जना युवा सङ्क्रमित युवतीसँगै नेपाल फर्केका थिए ।

उनीहरुलाई मोरङको मिक्लाजुङ स्थिट क्वारेन्टाइनमा राखी स्वाव परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएपछि घर फर्काउन लागिएको प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरससँग लक्षण मिल्ने स्वास्थ्य समस्या भएपछि मोरङकै क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरिएका जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ का एकै परिवारका चार जनाको नतिजा पनि नेगेटिभ आएको छ । पाँचथरमा यसअघि आइसोलेसनमा राखी नौ जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्