

फिदिम, २९ चैत
पाँचथरमा एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएको छ । हालै फिदिममा बसेको सर्वपक्षीय बैठकले स्थानीय तहको माध्यमबाट सबै प्रकारका राहत वितरण गर्ने निर्णय गरेको हो ।
स्थानीय तहहरुले वडाबाट राहत वितरण गर्ने तथा राहत दिन चाहने गैरसरकारी क्षेत्रले स्थानीय तहको माध्यमबाट राहत वितरण गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो ।
बैठकले सबै स्थानीय तहहरुमा खाद्यान्नको मौज्दात राख्ने निर्णय गरेको छ । जिल्लाका आठ वटै स्थानीय तहहरुले स्थानीय तह भित्र खाद्यान्न उपलब्धताको अवस्थाको अध्ययन गरेपछि अपुग हुने स्थानमा सरकारी स्तरबाटै खाद्यान्न खरिद गरी मौज्दात राखिने भएको हो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न लकडाउन लम्बिएको अवस्थामा खाद्यान्नको अभाव हुनसक्ने भएकाले मौज्दान राख्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी दाहालले जानकारी दिनुभयो ।
यस्तै सरकारले हालै गरेको निर्णयअनुसार यहाँका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनको स्तरोन्नति गरिने भएको छ । सरकारको पछिल्लो निर्णयअनुसार जिल्लाका सबै स्थानीय तहहरुले क्वारेन्टाइनको स्तरोन्नति थाल्ने भएका हुन् ।
बैठकले एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवत–जावत रोक्न स्थानीय तहबाट स्वयंसेवक परिचालन गर्ने निर्णय समेत गरेको जिल्ला समन्वय अधिकारी दाहालले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य सीता थेवेको उपस्थितिमा सम्पन्न बैठकमा जिल्ला स्थित सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, निजी क्षेत्र तथा रेडक्रसका प्रतिनिधि सहभागी थिए ।