खाद्य वैङ्कमा साढे तीन लाख नगद र ७ हजार किलो खाद्यान्न



फिदिम, २९ चैत

पाँचथर उद्योग वाणिज्य संघले लकडाउन प्रभावितलाई राहत दिन स्थापना गरेको खाद्य वैङ्कमा ७ हजार किलो खाद्यान्न र रु. तीन लाख ५३ हजार नगद सङ्कलन भएको छ ।

संघले खाद्यान्न सङ्कलन गर्ने समय बुधवार साँझसम्म तय गरेको थियो । खाद्य वैङ्कमा सात हजार १५५ किलो चामल, २७० किलो नुन, २०० सय लिटर खानेतेल र २४५ किलो दाल सङ्कलन भएको छ ।

सङ्कलित खाद्य सामग्रीको कुल बजार मूल्य रु. पाँच लाख २० हजार रहेको छ । यस्तै रु. तीन लाख ५३ हजार ८२० नगद जम्मा भएको संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो ।

संघले सङ्कलित सबै खाद्यान्न फिदिम नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगद भने जिल्लाका सात वटा गाउँपालिकाहरुलाई रु. ५१ हजारका दरले वितरण गर्ने भएको अध्यक्ष नेपालले वताउनुभयो ।

संघले खाद्य वैङ्कमा खाद्यान्न सङ्कलन रोकिएको र नगद भने दाताहरुले आगामी दिनमा समेत जम्मा गर्न सक्ने जनाएको छ । लकडाउन प्रभावित मजदूर तथा न्यून आय भएका परिवारलाई राहतका लागि संघले खाद्य बैङ्क स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्