मापदण्डअनुसार राहत दिन र तस्वीर नलिन नेकपा पाँचथरको निर्देशन



फिदिम, २६ चैत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले संघीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्वीर नलिन निर्देशन दिएको छ ।

नेकपा पाँचथरले मातहतको पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई राहत वितरणलाई ब्यवस्थित, प्रभावकारी र वास्तविक लकडाउन प्रभावितलाई सहयोगीसिद्ध बनाउन निर्देशन दिएको हो ।

नेकपा पाँचथरका इन्चार्ज एवम् प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार लकडाउन प्रभावित भनि स्थानीय तहबाट पहिचान भएका परिवारलाई मात्रै राहत दिन निर्देशन दिइएको छ । राहत सामग्री समेत संघीय सरकारले तोकेको न्यूनतम मात्रा पु¥याएर मात्रै वितरण गर्न निर्देशन दिइएको उहाँले वताउनुभयो ।

स्थानीय तह र नेकपाको स्थानीय पार्टी पङ्तीलाई समन्वयात्मक रुपमा राहत वितरण गर्न समेत नेकपाले निर्देशन दिएको छ । जिल्लामा फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले मात्रै लकडाउन प्रभावितलाई राहत वितरण थालेका छन् ।

कतिपय स्थानमा ब्यक्तिगत तथा संस्थागत रुपमा वितरण गरिएको राहत झारो टार्ने तथा देखावटी मात्रै भएको तथा लकडाउन प्रभावित एवम् न्यून आय भएका परिवारलाई यथेष्ठ सहयोग नपुगेको भनी आलोचना भएपछि नेकपाले यस्तो निर्देशन दिएको हो ।

नेकपाले यसअघि नै पार्टी पङ्तीलाई लकडाउन प्रभावितलाई राहत दिन तथा कोरोनाभाइरस सङ्क्रमण प्रतिकार्य एवम् सजगताका काममा सहभागी हुन आव्हान गरिसकेको छ । यस्तै राहत वितरणको तस्वीर नलिन तथा सामाजिक सञ्जालमा ‘पोष्ट’ नगर्न पनि नेकपाले निर्देशन दिएको छ ।

“राहत वितरणको काम स्थानीय सरकार र पार्टी पङ्तीको दायित्वको विषय हो, न कि कुनै प्रचारवाजी”, नेकपाका जिल्ला इन्चार्ज आङ्बोले भन्नुभयो, “राहत प्राप्त गर्ने ब्यक्ति तथा परिवारको सम्मानका लागि तस्वीर नलिन र सामाजिक सञ्जालमा नहाल्न भनिएको हो ।” पाँचथरमा सामाजिक दूरी पालना गर्ने नाममा वडाहरुबाट राहत वितरण गरिएका कतिपय तस्वीरहरु ‘भाइरल’ समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्