संक्रमितको उपचार प्रक्रियामा सहभागी हुनेको मृत्यु भएमा प्रदेश सरकारले ५० लाख दिने



विराटनगर, २५ चैत

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाए तीनको परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकबाट गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका ५० लाख प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताउनुभयो ।

यस्तै कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश क्यारेन्डर स्वीकृत गर्दै २०७७ सालमा दिइने विदाहरु स्वीकृत गरेको छ ।

प्रदेश १ मा क्वारेन्टाइन बस्ने ४ हजार १ सय

प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ ।

क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । सरकारले तोकेका केन्द्रहरुमा मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन ।

आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २० महिला र ७० पुरुष छन् । (हाम्रोमत डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्