लकडाउन भएपछि पत्नीलाई साइकलमा राखेर एक मजदूरले गरे ७०० किमी यात्रा



‘डर र भोकले कसलाई आँट नदेला ?’ यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको । बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा ७०० किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे ।

राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन् जो कोरोनाभाइरस महामारीका कारण देशभरि अचानक लगाइएको लकडाउनका कारण भारत हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनुपरेको थियो । उनका भनाइमा कोरोनाभाइरस र आफ्नो अस्तित्व सङ्कटको त्रासले त्यो अभूतपूर्व आँट दियो ।

उनले काम गर्ने कम्पनीमा केही दिनअघि नै बन्द भएको थियो । ठेकेदारलाई फोन गर्दा कुनै सहयोग गर्न नसक्ने उत्तर पाएको उनको भनाइ छ । घरपतिले बस्यो भने भाडा दिनुपर्ने सुनाए । राघोराम भन्छन् “त्यहाँ बस्ने चिनेजानेका केही मानिस घरतर्फ जाँदै थिए र मैले पनि फर्किनु नै उचित देखेँ । गाउँघर पुगेपछि कम्तीमा भोकले त मरिँदैन ।”

पाँच महिनाअघि उनी रोहतक गएका थिए । ठेकेदारमार्फत् उनले एउटा निजी कम्पनीमा केही दिनअघि काम पाएका थिए । मासिक तलब ९,००० भारु थियो । तर मार्च २७ को बिहान उनी पत्नीलाई लिएर हिँडे ।

चार दिनपछि अर्थात् ३१ मार्चमा उनी गोन्डा जिल्ला पुगे । हामीसँग बीबीसीसँग पहिलो पटक कुरा हुँदा त्यहाँको जिल्ला अस्पतालमा उनी पत्नीसहित जाँच गराउन जाँदै थिए ।

राघोरामका अनुसार रोहतकबाट निस्किँदा उनको खल्तीमा १२० रुपैयाँ मात्र थियो। दुइटा झोलामा केही कपडा र सामानबाहेक अरू केही थिएन । पहिलो पटक साइकलमा यात्रा गरिरहेकाले बाटोबारे पनि जानकारी थिएन ।

उनी भन्छन् “सोनीपत भन्ने ठाउँसम्म पुग्दा भोकले सताउन थाल्यो। ठाउँठाउँमा प्रहरीले रोके, तर हाम्रो बाध्यता बुझेर छोडिदिए । सोनीपतपछि राजमार्गमा पुगेपछि कतै नअलमलिएर गाजियाबाट, बरेली, सीतापुर, बहराइच हुँदै गोन्डा पुग्यौँ ।”

त्यहाँको अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर जाने अनुमति प्राप्त भयो । उनको गाउँ बलरामपुरको रेहरा क्षेत्रमा पर्छ, तर ससुराली गोन्डा जिल्लामा छ । रात परेकाले उनी ससुरालीमै बास बस्न गए । दोस्रो दिन पत्नीका साथ आफ्नो गाउँ पुगे । उनले यात्रा थालेको हरियाणाको रोहतकबाट बलरामपुरसम्को सडकमार्गको दूरी झन्डै ७०० किलोमिटर छ ।

राघोरामका अनुसार यति लामो बाटो उनले कहिल्यै साइकल चलाएका थिएनन् । गाउँबाट कहिलेकाहीँ मात्र बलरामपुरसम्म जाने गर्थे । तर कोरोनाभाइरसले ‘मनमा यति त्रास उत्पन्न गरिदियो’ कि त्यही डरले त्यति लामो बाटो तय गर्ने शक्ति आएको उनी बताउँछन् ।

पाँच दिन प्रत्येक घण्टा पाँच–सात मिनेट विश्राम गर्दै लगातार साइकल चलाइ नै रहेको उनको भनाइ छ । उनी भन्छन् “साथमा पत्नी पनि भएकाले लगातार धेरै समय साइकल चलाउन सकिँदैनथ्यो । राति दुई घन्टा आराम गर्थेँ । कहिल्यै कुनै पम्पमा रोकिन्थेँ वा कुनै बन्द पसलको बाहिर आराम गर्थेँ ।”

राघोरामले यात्रा सुरु गर्दा उनीसँग पत्नी मात्र सँगै थिइन् । तर उनलाई बाटोमा आफू जस्तै हजारौँ मानिस भेटिएलान् भन्ने अनुमान थिएन । उनकी पत्नी सीमा भन्छिन् “राजमार्गमा जता हेर्यो उतै मानिस मात्र देखिन्थे । कसैको टाउकोमाथि बोरा, कसैको टाउकोमाथि झोला । कोही एक्लै त कोही समूहमा हिँडिरहेका देखिन्थे ।”

“उनीहरूलाई देखेर हाम्रो पीडा कम हुन्थ्यो । हामीसँग साधन थियो, उनीहरूसँग त त्यो पनि थिएन । साइकल नभएको भए पैदल पनि आउनुपर्ने थियो किनकि सबै समस्या लगभग उस्तै थियो ।” राघोरामसँग पैसा नभए पनि खानेपिउने केही अत्यावश्यक सामान थिए । तर बाटोमा मानिसहरूले खानेकुरा बाँडिरहेका थिए ।

उनी भन्छन् “बाटोमा धेरै मानिस थिए, तैपनि सहयोगको निम्ति यति धेरै हातहरू बढेका थिए कि कसैलाई समस्या भएन । तर बाटोमा प्रहरीले रोकिरहेका कैयौँ मानिसहरू र केहीलाई पिटिरहेको पनि देखियो । हामीलाई भने त्यस्तो समस्या भएन ।”

राघोराम शिक्षित छैनन् । केही वर्षअघि उनको विवाह भएको थियो । केही कमाउन र त्यसबाट घरपरिवार धान्न सकिएला भनेर उनले गाउँ छाडेका थिए । तर एक पटक फेरि त्यही गाउँ उनको गन्तव्य बन्न पुगेको छ जहाँबाट उनी नयाँ र राम्रो गन्तव्य खोज्दै केही महिनाअघि निस्किएका थिए । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्