मिक्लाजुङमा विदेशबाट फर्केकाका परिवार समेत क्वारेन्टाइनमा



फिदिम, २५ चैत

कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनिकरण गर्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका ब्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यहरुलाई समेत क्वारेन्टाइनमा राखेको छ । मिक्लाजुङ गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए ।

सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका ब्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यहरुलाई समेत क्वारेन्टाइनमा राखेको हो । विदेशबाट फर्केकाहरुको सम्पर्कमा पुगेका चार जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिनुभयो ।

विदेशबाट फर्केकाका चार जना आफन्तमध्ये तीन जना महिला र एक जना पुरुष क्वारेन्टाइनमा राखिएका हुन् । “एक जनाका श्रीमती र बहिनीलाई क्वारेन्टाइनमा राखिएको छ । एक जनाकी श्रीमती र एक जनाका श्रीमान हुनुहुन्छ”, प्रमुख प्रशासकीय अधिकृत राईले भन्नुभयो, “सङ्क्रमणको आशङ्काका हिसाबले विदेशबाट फर्कनेहरु जत्तिकै उनीहरुको सम्पर्कमा पुगेका आफन्त समेत रहने भएकाले क्वारेन्टाइनमा राखेका हौँ ।”

पाँचथरका अन्य स्थानीय तहहरुले विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राख्न नसकिरहेका बेला मिक्लाजुङले सम्पर्कमा पुगेका आफन्तलाई समेत क्वारेन्टाइनमा राखेको हो । पाँचथरमा सोमवार साँझसम्म ११ जना महिला र ४३ जना पुरुष गरी ५४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको हो ।

यस्तै हालसम्म नौ जना कोरोना भाइरसको लक्षणसँग मिल्ने विरामीहरुको स्वाव परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ । उनीहरु सबै विदेशबाट आएका ब्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्