

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एक नेपाली फेला परेको त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन् । धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ ।
शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो ।
बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ । अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ ।” भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ । ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौँ ।”
उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार गरिनेछ । बागपतका प्रहरी प्रमुख यादव भन्छन् “हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ । उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ । हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ । तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ ।”
खेकडाको अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका उनी एक मात्र व्यक्ति भएको प्रहरीको भनाइ छ । खेकडा अस्पतालमा एक्लो सङ्क्रमित बिरामी भएपछि उनी भागेको हुन सक्ने र अब जिल्ला अस्पतालमा उनलाई पठाइने यादव बताउँछन् ।
ती व्यक्ति २८ जना सम्मिलित जमातको साथ लागेर भारत पुगेका थिए । उक्त समूहका २७ जनामा सङ्क्रमण नदेखिए पनि उनीहरू बागपतमा नै क्वारन्टाइनमा रहेको स्थानीय प्रहरी प्रमुखले जानकारी दिए । उनीहरू सबै जना सुनसरीकै रहेको भारतीय प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले अस्पतालबाट भागेका ती व्यक्तिले अरूमा पनि सङ्क्रमण गराउन सक्ने भन्दै उनलाई देख्ने बित्तिकै सूचना दिन अनुरोध गरेको थियो । भारतको राजधानी दिल्लीबाट बागपत झण्डै ५० किलोमिटर टाढा पर्छ । कोभिड–१९ विरुद्ध लकडाउन घोषणा भएपछि २,१०० भन्दा बढी नेपाली भारतमै क्वारेन्टाइनमा रहेको प्रधानमन्त्री केपी ओलीले मङ्गलवार आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए । (बीबीसी नेपालीबाट साभार)