फिक्चुखोला सहकारीले सुरु गर्यो सुफत मूल्यको पसल



फिदिम, २५ चैत

लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पु¥याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुफत मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा सोमवारबाट सुफत मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेल सहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुफत मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको विर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो ।

उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा ब्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । फाल्गुनन्द–१ मा ब्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहज रुपमा चोकर र ब्राण्ड उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त पसल स्थापना गरिएको हो ।

“वडामा रहेका हाम्रा ९२ जना शेयर सदस्यहरु सहित अन्य कृषकहरुलाई खाद्यान्नको समेत अभाव हुने भएकाले खाद्यान्न समेत विक्री गर्न थालिएको हो”, सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले भन्नुभयो । सहकारीले विर्तामोडबाटै सामग्री खरिद गरी पसल निरन्तर सञ्चालन गर्ने भएको छ ।

सहकारीले आफ्ना कर्मचारीलाई पसलमा खटाएको छ । कोरोनाभाइरसको महामारी तथा लकडाउन अन्त्य भएपछि पनि सुफत मूल्यको उक्त पसल निरन्तर सञ्चालन हुने अध्यक्ष नेम्वाङको भनाई छ । “आगामी दिन सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्ने नगदेवाली तथा फलफूलसमेत सहकारीले खरिद गरी विक्री वितरण गर्ने लक्ष्यका साथ यो पसल सञ्चालनमा ल्याएका हौँ”, नेम्वाङले भन्नुभयो ।

उक्त पसलबाट अहिले फाल्गुनन्द गाउँपालिका वडा नं. १ का स्थानीयवासीले मात्रै लाभ लिन सक्ने भएपनि आगामी दिनमा उक्त गाउँपालिकाका अन्य वडामा समेत विस्तार गरिने नेम्वाङले वताउनुभयो । उक्त सहकारी तथा मिलन केन्द्र नेपालले गुड नेवर्स इन्टरनेशनल नामक संस्थाको सहयोगमा यहाँ दूग्ध मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमले यहाँका कृषकहरुलाई ब्यावसायिक गाई तथा बंगुर पालनका लागि घुम्ती कोष परिचालन, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित ब्यावसायिक परियोजना सञ्चालन तथा गुणस्तरीय दूग्धजन्य सामग्री उत्पादनमा सघाउ पु¥याउँदै आएको छ । कृषकहरुले घुम्ती कोषको किस्ता रकम तिर्न नसक्ने भएका कारण लकडाउनमा समेत कृषकबाट उत्पादित दूध खरिद गरी सहकारीले दूग्धजन्य सामग्री उत्पादन गर्दै आएको संस्थाका सचिव राजेन्द्र आङ्देम्बेले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्