संक्रमण फैलन नदिन सामाजिक दूरी अचूक उपाय



कुमार मैनाली

सरुवा रोगको प्रकृति नै एउटा व्यक्तिबाट अर्को व्यक्तिलाई सर्ने हुन्छ । दुई व्यक्तिबीचको सम्पर्क वा निकटतामा यो रोग सर्छ । कोरोना भाइरस दुई मिटरको दूरीमा खोक्दा वा हाँच्छ्यू गर्दा सर्छ भनी वैज्ञानिक अनुसन्धानहरुले भनेका छन् । सरुवा रोगका मोडलहरुबारे थुप्रै पेपरहरु छापिएका छन् । कति मानिसलाई संक्रमण भएको छ र कति मानिस जोखिममा छन् भनेर तिनले विस्तृत अध्ययन गरेका छन् । खासगरी कोभिड–१९ जस्तो सरुवा रोग ब्याजको स्याज, स्याजको स्याज हुँदै फैलन्छ ।

यो सरुवा रोगको आधारभूत मोडल नै हो । पछिल्लो समयमा संसारका विभिन्न देशबाट कोभिड–१९ को डाटा आउँदै गर्दा यसबारे अध्ययन गर्न थप सजिलो भएको छ । कोभिड–१९ भएको एउटा व्यक्तिले कतिजनासम्मलाई यो रोग सार्नसक्छ ? यसको आधारभूत सरुवा दर कति हो ? यो सबै सरुवारोगविज्ञ र आम मानिसले पनि जान्नुपर्ने एउटा जिज्ञासा हो । अहिलेसम्मको अध्ययन अनुसार कोरोना भाइरसको संक्रमण एकजनाले २ देखि २.६ सम्मलाई सारेको पाइन्छ । यो चाँडै मानिसहरुमा सरेको पाइन्छ । एकजनाबाट हजारौँमा यो संक्रमण पुग्न धेरै दिन लाग्दैन ।

मानिसहरु पहिल्यैजसरी स्वतन्त्रतापूर्वक भेट गरिरहेका छन् भने यो आक्रामक रुपम सर्ने परिस्थिति आउँछ । ठ्याक्कै मानिसहरुले भेटघाट बन्द गरे भने यसको सरुवा दर स्वाट्टै घटिहाल्छ । त्यही भएर यो रोगको संक्रमण देखिएपछि पनि मानिसहरु धेरै भेटघाट गरिरहे भने सर्ने दर पनि बढी हुन्छ । अनि स्वाभाविक रुपमा मृत्युदर पनि बढी हुन्छ ।

बेलायतको इम्पेरियल कलेजका वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार सामाजिक दुरी पालना गरिएन वा केही पनि उपाय अपनाइएन भने अमेरिकामा २० लाख मानिस मर्छन् । तर, रोग देखिएसँगै मानिसहरुको आनिबानी त परिवर्तन हुन्छ । वैज्ञानिकहरुले थाहा पाए– आइसोलेसनले यसको सरुवा दर एकदमै धेरै घटाउने रहेछ । सामाजिक दूरी कायम राख्यौँ भने अझ धेरै घट्ने रहेछ । स्कुल बन्द गर्दा त्यो झन् घट्दो रहेछ ।

र, चौथो नम्बरमा सार्वजनिक स्थानहरु बन्द गरियो भने एउटा मानिसलाई चारजनालाई सार्न सक्थ्यो भने एकजनालाई मात्र सार्न सक्दो रहेछ । यी चारवटा उपाय कायम गर्नेवित्तिकै संक्रमितहरुको संख्या जति थियो, त्यत्तिमा सीमित रहन्छ । यत्ति उपाय अपनाउनेबित्तिकै सरुवा रोग ठ्याक्कै रोकिन्छ ।

कोभिड–१९ को मृत्युदर सामान्यतयाः २ प्रतिशतमात्र छ । पूर्णयता आइसोलेसनमा बस्नेबित्तिकै संक्रमितको संख्या बढ्दैन । मान्छे ठीक हुँदै जान्छन् । अनि केसहरु घट्दै जान्छन् । यसको संक्रमितहरुको संख्या यसरी एकदमै घटाउन सकिन्छ ।

वैज्ञानिकहरुले थाहा पाए– आइसोलेसनले यसको सरुवा दर एकदमै धेरै घटाउने रहेछ । सामाजिक दूरी कायम राख्यौँ भने अझ धेरै घट्ने रहेछ । स्कुल बन्द गर्दा त्यो झन् घट्दो रहेछ । र, चौथो नम्बरमा सार्वजनिक स्थानहरु बन्द गरियो भने एउटा मानिसलाई चारजनालाई सार्न सक्थ्यो भने एकजनालाई मात्र सार्न सक्दो रहेछ । यी चारवटा उपाय कायम गर्नेवित्तिकै संक्रमितहरुको संख्या जति थियो, त्यत्तिमा सीमित रहन्छ । यत्ति उपाय अपनाउनेबित्तिकै सरुवा रोग ठ्याक्कै रोकिन्छ ।

अहिले विश्वभरि यसका औषधि र भ्याक्सिनहरुमा काम भइरहेको छ । प्रभावकारी औषधि र भ्याक्सिन नआउँदासम्म संक्रमण कम नम्बरमा राख्न सकियो भने यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।

अमेरिका वा नेपालमा अहिले मास्क र अन्य उपकरणहरुको अभाव छ । परीक्षण कम भयो भन्ने गुनासो छ । त्यो सामान्य अवस्था हो । तर, मानिसहरुले कोरोना भाइरसको संक्रमणलाई मृत्युको रुपमा बुझेका छन् । हामीले के बुझ्नुपर्छ भने यसको मृत्युदर एकदमै कम छ । सयमा दुईजना मानिस मात्र मर्छन् औसतमा । यसबाहेक अरु बाँच्छन् । फेरि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ जसले मृत्युदर अझ घटाउन सहयोग पुग्छ ।

अमेरिकामा मानिसहरुमा भय कम छ । उता नेपालमा भय बढी छ । तर, त्यो भयले नेपाललाई सहयोग पुर्याएको छ । आइसोलेसनमा बस्न प्रेरित गरेको छ । अमेरिकामा त मानिसहरु सामाजिक दुरीको पालना गर्न चाहँदैनन् । आइसोलेसनमा बस्न चाहँदैनन् ।

गुगलले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालमा लकडाउनको एक सातामै मानिसहरुको आवतजावत एकदमै घट्यो । जनता कति सुसुचित छन् र साझा शत्रुसँग जुध्न कति एक भएर लडेका छन् भन्ने यसले देखिएको छ । अमेरिकामा मानिसहरुले सामाजिक दूरीलाई पालना गरेका छैनन् । त्यही भएर अमेरिकामा संक्रमण एकदमै बढिरहेको छ ।

गुगलको त्यो तथ्यांक हेर्ने हो भने उत्तरदायी र बुझेका नागरिकहरुले कसरी व्यवहार गर्नुपर्छ भन्ने देखिएको छ जुनकि अमेरिकामा देखिएको छैन । सामाजिक दूरीमा बस्ने बानीले नेपाली समाजलाई फाइदा पुर्याइरहेको छ । अमेरिकामा सामाजिक दूरी पालना नगर्दा संक्रमणको दर बढिरहेको छ ।

नेपालमा काम नगरी पनि मानिस बाँच्छ । महिनौँमहिनौँ चल्छ । यसले सायद नेपालीहरुलाई घरमै बस्न प्रेरित गरेको छ । अमेरिकामा मानिसहरुले अर्कालाई मदत गर्दैनन् । घरमा बस्ने बानी छैन । यसले उनीहरु घरमा बसिरहन सक्दैनन् ।

फेरि अमेरिकामा ज्ञान वा विज्ञानका लागि एकदमै ठूलो सम्मान छैन । नेपालमा विज्ञले केही भन्यो भने स्वीकार गर्छन् । सुन्छन् । पत्याउँछन् । अमेरिकामा हाइस्कुल ड्रपआउटले पनि अरुका कुरामा विश्वास गर्दैनन् । त्यो कारणले पनि मानिसहरु पनि बाहिर निस्कन खोजेका हुन् ।

तीन साताअघि अमेरिकामा संक्रमण एकदमै फेलिरहेको बेला एकजना गभर्नरले भिडभाड भएको रेस्टुरेन्टमा गएर तस्बिर पोस्ट गर्यो । उसले आफैँ भिडमा जान प्रेरित गर्यो । मानिसहरुलाई यस्तो व्यवहारले बाहिर निस्कन जोस्याउँछ ।

जोखिम भएका, संक्रमित भएका र निको भएकाको नम्बर राखेर विश्लेषण गर्दा जोखिम जति बढी हुन्छ, त्यत्ति बढी संक्रमित हुन्छन् । अमेरिकामा यो अवस्था छ । फेरि अमेरिकामा धेरै मानिसहरु टाढाटाढा जान्छन् कामका लागि । यसले भाइरस टाढाटाढा सार्ने सम्भावना बढी हुन्छ ।

नेपालमा सामाजिक दूरीको अवस्था एकदमै प्रभावकारी छ । यसले नेपालीहरुलाई भाइरस नफैलन मदत पुर्याएको छ । नेपालमा नौजना संक्रमित छन् अहिलेसम्म । अमेरिका वा संक्रमण फैलिरहेका देशका कतिपय सहरमा सुरुका दिनमा हरेक तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको देखिएको छ । नेपालमा पनि न्युयोर्क सिटी वा प्रभावित अन्य सहरजसरी संक्रमण फैलियो भने डेढ महिनामा करिब डेढ लाख मानिस संक्रमित हुन्छन् । तर, लकडाउन कायम राखियो भने यसलाई सयको संख्यामा नै सीमित राख्न सकिन्छ ।

इटाली र स्पेनमा औसत आयु नै ८३ भएकाले धेरै मृत्युदर देखिएको छ । नेपालमा युवाहरु बढी छन् जसले संक्रमितको संख्या कम राख्न सघाउ पुर्याउँछ । फेरि नेपालमा संयुक्त परिवारमा बस्ने आनीबानीले सार्ने सम्भावना बढी हुन्छ । धनगढीमा पछिल्लो समयमा दुबईबाट आएको व्यक्तिले परिवारकै सदस्यलाई संक्रमण सारेको छ । संयुक्त परिवारमा बस्ने बानीले यो संक्रमण सरेको भन्न सकिन्छ । समग्रमा भन्दा, नेपालीले पालना गरेजसरी सामाजिक दुरी र एकान्तिक जीवन चाहिँ कायम राख्न सकियो भने रोग सार्ने सम्भावना कम हुन्छ ।

(मैनाली मेरिल्यान्ड विश्वविद्यालयका पोस्ट डक्टरल फेलो हुन् । मेरिल्यान्डस्थित चेसापिक कन्जरभेन्सीमा ‘तथ्यांक वैज्ञानिक’ का रुपमा कार्यरत मैनाली पर्यावरण, तथ्यांकशास्त्र र आर्टिफिसियल इन्टेलिजेन्सका विज्ञ हुन् । देश सञ्चार डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्