नेपालमा कोरोनाभाइरस दोश्रो चरणमा पुग्नुको अर्थ के हो ?



नेपालमा कोरोनाभाइरस सङक्रमण दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएपछि त्यसको अर्थबारे धेरैमा जिज्ञासा बढेको छ । पहिलो पटक विदेशबाट आएका एक सङ्क्रमित व्यक्तिबाट उनकै परिवारमा अर्को व्यक्तिमा सरेपछि नेपालमा कोरोनाभाइरस सङक्रमणलाई दोस्रो चरण भनिएको हो । सामान्यतया विदेशबाट आएका व्यक्तिमा मात्र देखिने चरणलाई पहिलो, तिनले आफन्त वा छरछिमेकमा सार्नेलाई दोस्रो र समुदायमा फैलिनेलाई तेस्रो चरण भन्ने गरिन्छ ।

अहिलेसम्म पुष्टि भएका नौ सङ्क्रमितमध्ये एक जना पूर्ण रूपमा स्वस्थ भइसकेका छन् भने बाँकी आठ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ । तर यसका वास्तविक अर्थ र यी चरणमा अपनाउनुपर्ने बाटोबारे विज्ञहरू के भन्छन् ? प्रस्तुत छ यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँगको कुराकानीः

पहिलो चरणबाट दोस्रो चरणमा पुगेपछिको स्थितिमा के फरक हुन्छ ?

विदेशबाट सङ्क्रमित भएर आएको तर त्यसबाट वरपर अरूलाई नसरेको अवस्थालाई हामी पहिलो चरण भन्छौँ । दोस्रो चरण वा स्थानीय प्रसारण भएको भनेको चाहिँ सङ्क्रमितले आफ्नो नजिकको नातेदार वा छरछिमेकमा सारेको भन्ने हो ।

यो चरणसम्म पनि धेरै मानिस सङ्क्रमित भइसकेका हुँदैनन् । यो चरणमा को–को सङ्क्रमित भनेर पहिचान गर्न पनि सकिन्छ। त्यसैले हामीले यदि मेहनत गर्यौँ भने दोस्रो चरणसम्म यसलाई रोक्न सकिन्छ ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा अपनाउनुपर्ने सावधानीमा के फरक हुन्छ ?

पहिलो चरणको उद्देश्य भनेको विदेशबाट आएका सङ्क्रमितहरूको पहिचान अनि उनीहरूलाई आवश्यक आइसोलेशनमा राख्ने कार्य गर्ने हुन्छ । दोस्रो चरणको उद्देश्य चाहिँ अब समुदायमा व्यापक नफैलियोस् वा तेस्रो चरणमा प्रवेश नगरोस् भन्ने नै हुन्छ ।

यो चरणमा सङ्क्रमितका नातेदार र छरछिमेकले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यो क्षेत्रमा जो कोहीलाई पनि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिने र आवश्यक परे प्रयोगशाला परीक्षण गर्नुपर्छ ।

अर्थात् सर्वसाधारणहरू आफैँ सचेत हुनुका साथै प्रयोगशाला परीक्षण पनि उपलब्ध हुनुपर्छ । कुनै पनि सङ्क्रमित तुरुन्तै पत्ता लाग्न सकोस् र समुदायमा फैलनबाट रोक्न सकियोस् भनेर ।

व्यक्ति आफैँले तथा समुदाय र परिवारले अपनाउनुपर्ने सावधानी चाहिँ के हुन् ?

सङ्क्रमित भइसकेको अवस्थामा अस्पताल पुर्याउनुपर्छ । तत्पश्चात् थाहा नहुँदै घुलमिल भइसकेको अवस्थामा परिवारका सदस्य पनि १४ दिनसम्म अलग्गिएर बस्नुपर्छ । जथाभावी आवतजावत गर्नु हुँदैन । लक्षण देखिन्छ कि भनेर सचेत भएर बस्नुपर्छ ।

हामीकहाँ सुरुमा विदेशबाट आयो अनि परिवारसँग बस्यो, त्यसपछि मात्र सङक्रमण पुष्टि भएको देखिएको छ । सङ्क्रमित त अस्पताल जान्छ तर उसले थाहा नपाउँदाको अवधिमा सम्पर्कमा आएकाहरू सबै आफैँ क्वारेन्टाइन जस्तै गरेर बस्नुपर्छ । अरूलाई नसरोस् भन्नेबारे चनाखो हुनुपर्छ ।

घरमै त्यसरी कोही छुट्टै बस्दा खाने भाँडाका प्रयोग अनि लुगाका प्रयोगबारे कस्ता सावधानी अपनाउनुपर्छ ?

क्वारेन्टाइन भन्ने वित्तिकै निश्चित समयका लागि निश्चित स्थानमा अलग्गै बस्नु हो । त्यसरी बस्ने मानिसले प्रयोग गर्ने सामान अरूले सकेसम्म प्रयोग नगर्ने र कम्तीमा एक मिटरको दूरी कायम गर्ने गर्नुपर्छ ।

अब समुदायका मानिसहरूको कर्तव्य के हो त ?

समुदायका मानिसहरू अब सचेत र चनाखो हुनुपर्छ । जुन ठाउँमा सङ्क्रमण पाइएको छ त्यहाँ आवतजावत बन्द गरौँ । हुन त यसै पनि ‘लकडाउन’को अवस्था छ र एउटा स्थानीय तहबाट अर्कोमा नजान पनि भनिएको छ । तेस्रो चरणमा नजाओस् भन्नका लागि यो आवश्यक छ । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्