के हो ‘सामाजिक दूरी’ ? कोरोनाबाट बच्न किन महत्वपूर्ण छ ?



फिदिम, २४ चैत

नोबल कोरोनाभाइरसको महामारी विश्वभर फैलिन थालेपछि संक्रमण फैलिनबाट रोक्न विभिन्न मुलुकका सरकारहरुले क्याफे, पब, रेस्टुरेन्ट, नाइटक्लब, थिएटर, सिनेमा हल, जिम सेन्टरका साथै विद्यालय र कार्यालयहरुसमेत बन्द आह्वान गरियो ।

सरकारले अत्यावश्यकबाहेक मानिसहरुबीच भेटघाट र जमघट नगर्न सुझाव दिएका छन् । सोसल डिस्टेन्सिङ (सामाजिक दूरी) कायम गर्न सुझाव दिइएको छ ।

‘सोसल डिस्टेन्सिङ’ किन आवश्यक छ ?

कुनै एक संक्रमित व्यक्तिले खोक्दा उछिट्टिएका थुक, ¥याल अथवा सिँगानका छिटाहरु हावामात्र अर्को व्यक्तिसम्म पुग्नसक्ने भएकोले सोसल डिस्टेन्सिङ आवश्यक भएको बीबीसीमा प्रकाशित समाचारमा बताइएको छ । हावामार्फत अर्को व्यक्तिसम्म पुगेका भाइरसहरु श्वास फेर्दा शरीरमा जाने र संक्रमण गराउन सक्ने हुन्छन् ।

कुनै संक्रमित व्यक्ति बसेको ठाउँमा छुँदा, अथवा आँखा, नाक र मुखका माध्यमबाट पनि भाइरसहरु निरोगी व्यक्तिसम्म पुग्न सक्छन् । मानिसहरुले जति कम समय सँगै रहन सक्यो, संक्रमणको जोखिम त्यति नै कम हुन्छ ।

अहिले हरेक व्यक्तिलाई सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । विशेष गरी ७० वर्षभन्दा माथिको उमेर भएका, गर्भवती, श्वासप्रश्वाससम्बन्धी बिरामी, मुटुरोग, मधुमेहलगायतका बिरामीहरुले सामाजिक दूरी कायम गर्न जोड दिइएको छ ।

कसरी दूरी कायम गर्ने ?

– सकेसम्म घरबाटै काम गर्ने
– अनावश्यक यात्रा नगर्ने
– भीडभाड हुने र सार्वजनिक स्थलहरुबाट टाढा रहने
– परिवार र साथीभाइबीच हुने जमघटमा सहभागी नहुने
– क्याफे, क्लब, रेस्टुरेन्ट, पबलाई सरकारले बन्द गर्न निर्देशन गरिसकेको अवस्थामा कार्यान्वयनमा कडाइ गर्ने

सोसल डिस्टेन्सिङका समयमा के गर्न मिल्छ ?

– अरुबाट दुई मिटर टाढासम्म रहने गरी हिँडडुल गर्न सकिन्छ
– अत्यावश्यक भएमा परिवार र साथीभाइलाई भेट्न सकिन्छ
– कुकुर डुलाउन सकिन्छ
– तपाईंलाई संक्रमणको कुनै लक्षण नदेखिएको भए आफन्त र छिमेकीमा रहेका ज्येष्ठ नागरिकको हेरचाह गर्न सकिन्छ
– खाना लगायतका उपभोग्य वस्तु खरिद गर्न जान सकिन्छ । (अनलाइनहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्