हिँडिरहेका मानिस र गुडिरेहका गाडी रोकिए, शीर झुकाए र कोभिड–१९का कारण मृत्यु हुनेलाई सम्झिए



कोरोनाभाइरस महामारी फैलिन थालेको देश चीनमा करोडौँ मानिसहरूले कोभिड–१९ का कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरेका छन् ।

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले रोकिएर आफ्नो शिर झुकाएका छन् । त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो ।

चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोभिड–१९ का कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

देशव्यापी मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ ।

श्वासप्रश्वाससम्बन्धी एउटा नौलो सङ्क्रामक रोग लगाउने कोरोनाभाइरस फैलिरहेको ठहर गरी आफ्ना सहकर्मीहरूलाई सचेत गराउने प्रयास गरेका वुहानमा कार्यरत चिकित्सक लि वेन्लियाङ तथा अन्य स्वास्थ्यकर्मीहरूले पनि कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाए ।

ती चिकित्सकलाई चुप लगाउन उच्च अधिकारीहरूले दबाव दिएका विवरणहरू बाहिरिएका थिए । यसैबीच दिवङ्गत मानिसको सम्झना गरिने चिन्मिङ पर्वका अवसरमा धेरै मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तजनलाई डिजिटल प्रविधिको प्रयोग गर्दै सम्मान अर्पण गरेका विवरण प्राप्त भएका छन् ।

अमेरिकामा भाइरस सङ्क्रमणपछि मृत्यु हुने मानिसको संख्या बढेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले सङ्क्रमण फैलिन नदिन नयाँ निर्देशन जारी गर्न स्वास्थ्य अधिकारीहरूलाई अह्राए ।

त्यसपछि अमेरिकामा सबैलाई सार्वजनिक स्थलमा अनुहार छोप्न निर्देशन दिइएको छ । तर ट्रम्प आफैँले त्यस्तो निर्देशन अनिवार्य नहुने भन्दै आफूले त्यसलाई पालना नगर्ने बताएका छन् ।

अमेरिकामा एकै दिनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १,३०० पुगेको छ । त्यो विश्वमै २४ घण्टाको अवधिमा अहिलेसम्म अभिलेख राखिएको सर्वोच्च मृत्युदर हो । कोभिड–१९ का कारण न्यूयोर्क राज्य अतिप्रभावित रहेको छ ।

त्यहाँका प्रमुख प्रशासकले देशका अन्य भूभागबाट सहयोगका लागि अनुरोध गरेका छन् । उनका अनुसार न्यूयोर्कमा अहिलेसम्म झन्डै ३,००० बिरामीको ज्यान गइसकेको छ । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्