

जब बिरामीहरूले अस्पतालका शैया भरिन्छन् तर निको बनाउन सक्ने मान्छे हुँदैनन्, तपाईं कसलाई बोलाउनु हुन्छ ? यो प्रश्न केही दिनअघि इटालीको लोम्बार्डी क्षेत्रका स्वास्थ्यमन्त्री जिउलियो गालेरासामू तेर्सिएको थियो । लोम्बार्डी इटालीमा कोरोना भाइरसको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो ।
मिलान शहरभन्दा ५० किलोमिटर टाढा सैनिकहरूले कार पार्किङ गर्ने ठाउँमा ३२ शैयाको अस्थायी अस्पताल बनाउँदै थिए । तर उक्त अस्पतालमा चाहिने डाक्टर कहाँबाट आउँछन् थाहा थिएन । “कसैले मलाई भन्योः क्युबाली स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्नुस् न” गालेराले सम्झिए ।
एक हप्ता नबित्दै २२ मार्चमा हवानाबाट ५२ जना स्वास्थ्यकर्मी आइपुगे । उनीहरूले हातमा क्युबा र इटालीक झन्डा हल्लाइरहेका थिए । स्थानीयहरूले उनीहरूलाई न्याना लुगा र चढ्न साइकल पनि दिए ।
६ दशकदेखि संसारभरि डाक्टर पठाउँदै आएको क्युबाको केन्द्रीय मेडिकल सहयोग इकाइमा अचेल व्यस्तता निकै बढेको छ । अंगोलादेखि अन्डोरासम्मका झन्डै १४ देशले ८०० क्युबाली डाक्टर र नर्सलाई बोलाएका छन् ।
ब्युनोस आयर्सदेखि स्पेनको भ्यालेन्सियासम्म नेताहरू र क्यानडा आदिवासी समूहहरूले आफ्नो देशको सरकारलाई क्युबाली डाक्टर बोलाउन दबाब दिइरहेका छन् ।
अर्थतन्त्र र जनसंख्याका आधारमा क्युबाले एकदमै ठूलो संख्यामा डाक्टरहरू उत्पादन गर्छ । कुल १ करोड १० जनसंख्या भएको क्युबामा ठूलो अनुपात युवाहरूको छैन तैपनि डाक्टरहरू चाहिनेभन्दा बढी छन् ।
केही समयअघि वामपन्थी शासकहरू सत्ताबाट बाहिरिएका ब्राजिल, बोलिभिया, एल साल्भोडो र इक्वेडरबाट बितेका १८ महिनामा ९ हजार क्युबाली डाक्टर र नर्स फर्किएका छन् ।
क्युबाको सरकारी समाचारपत्र ग्रामाका अनुसार सन् २०१५ मा ५० हजार क्युबाली डाक्टर र नर्स विदेशमा थिए भने यो वर्ष घटेर २८ हजार पुगेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र मानवीय सहायताका लागि क्युबाले डाक्टरहरूको निर्यात गर्न थालेको हो ।
सन् २००६ मा आफ्ना दाजु फिडेलबाट राहुल क्यास्ट्रोले सत्ता सम्हालेपछि डाक्टर निर्यात क्युबाली अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । सन् २००९ देखि क्युबाली डाक्टर आयात गरिरहेको पोर्चुगलले एक जना डाक्टर बराबर वार्षिक ५५ हजार अमेरिकी डलर क्युबालाई बुझाउँछ ।
भेनेजुयलाले २० हजार क्युबाली स्वास्थ्यकर्मीको बदलामा क्युबालाई निकै सस्तो मूल्यमा तेल दिइरहेको छ । गत वर्ष क्युबाले सार्वजनिक गरेको तथ्यांकमा क्युबाली डाक्टर निर्यातबाट आउने पैसा कुल निर्यातको ४६ प्रतिशत छ भने कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत देखिन्छ ।
यसरी विदेश गएर कमाएको ती डाक्टरहरूले आफैं राख्न भने पाउँदैनन् । कम्युनिष्ट सरकारले स्वास्थ्यकर्मीको तलबको तीन चौथाइ आफूसँग राख्छ । त्यतिगर्दा पनि उनीहरूले देशभित्र कमाउने भन्दा राम्रै पैसा पाउँछन् । धेरैले बाहिर एकदमै डरलाग्दो अवस्थामा काम गर्नुपर्ने गुनासो गर्छन् ।
विदेश गएकाहरू उतै नबसून् भनेर सम्बन्धित देशका क्युबाली नियोगले डाक्टरहरूको पासपोर्ट र उनीहरूको तलबको केही हिस्सा आफैंले राख्छन् । तर यस्तो नीतिले सधैँ काम गर्दैन ।
यसरी डाक्टर बाहिर पठाउनुलाई मानव तस्करीको संज्ञा दिने अमेरिकाले थुप्रै क्युबाली डाक्टरलाई पिआएरको अफर गर्ने गर्छ । सन् २००६ देखि २०१७ सम्म झन्डै ७ हजार बढी क्युबाली डाक्टरले त्यो अफर स्वीकारेका छन् ।
गत मार्च २४ मा अमेरिकी विदेश मन्त्रालयले क्युबाली डाक्टरलाई बोलाएका देशले उनीहरूको दुरूपयोग हुनसक्ने तर्फ सचेत रहन भनेको छ । इटालीजस्ता देशलाई अहिले डाक्टर चाहिएका छन् भने क्युबालाई पैसा चाहिएको छ ।
कोरोना भाइरसले क्युबाली अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई नराम्ररी क्षति पुर्याएको छ । अब अमेरिकाबाट आउने विप्रेषण पनि घट्नेछ । यो महामारी आउनुभन्दा पहिलादेखि नै क्युबाली अर्थतन्त्र समस्याग्रस्त थियो ।
उसले आफूले ऋण लिएका देशलाई किस्ता बुझाउन सकेको थिएन । तीमध्ये एउटा ऋणदाता इटाली हो । अब उसले ऋणको किस्ता तिनै डाक्टरहरूबाट पूर्ति गर्न सक्छ ।
क्युबाली डाक्टर मगाइरहेका सबै देशले बदलामा पैसा तिरिरहेका छन् कि छैनन् प्रष्ट भइसकेको छैन । एन्डोराका स्वास्थ्य मन्त्रीले भने आफ्नो देशले पैसा तिरिरहेको बताएका छन् । डाक्टरहरूबाट आउने आम्दानीलाई क्युबाले प्रायः गोप्य नै राख्छ र धनी मुलुकहरूलाई बढी शुल्क लगाउँछ ।
महामारीका बेला विदेशमा डाक्टर पठाउन क्युबाले आफ्नो देशमा लोम्बार्डीको जस्तो महामारी फैलन दिनु हुँदैन । अहिलेसम्म उसले रोकथामलाई नै आफ्नो शक्ति ठानेको छ । त्यसका लागि उसले संक्रमित हुने सक्ने सम्भावित सबैलाई नियमित जाँच गरिरहेको छ । अहिलेसम्म क्युबा २६९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
देशभित्र संक्रमणको सम्भावना उच्च भएका बेला विदेशमा मेडिकल साहस प्रदर्शन गर्नु वुद्धिमतापूर्ण देखिन्न । तर क्युबाली सरकारलाई यसबाट प्राप्त हुने स्याबासीको लोभ छ र मेडिकल मिसनबाट पाइने अरू फाइदाबारे अरूले पत्तो पाउँदैनन् भन्ने आशा छ ।
गत वर्ष प्रसारित भएको चेर्नोविल टेलिभिजन सिरिजमा पण्डितहरूले विकिरणबाट बिरामी परेका बच्चाहरूको उपचारमा क्युबाली डाक्टरले भूमिकाको उच्च प्रशंसा गरेका थिए । धेरै क्युबालीलाई यसपालि पनि लाम्बोर्डीमा गएका डाक्टरहरू एक दिन कोभिड–१९ का नायकहरूका रूपमा देखिनेछन् भन्ने आशा छ । (सेतोपाटी डटकमबाट)