कोरोना भाइरसः संक्रमितको संख्या १२ लाख नाघ्यो, मृतकको संख्या ६५ हजार नजिक



फिदिम, २३ चैत

अहिले सिङ्गो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई धेरै प्रभावित पारेको छ ।

यसको रोकथामका लागि संसारका दुई सय बढी मुलुकले विभिन्न उपाय अपनाइरहेका छन् । धेरै मुलुकले यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यक्ता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरेका छन् ।

सुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन लगायतका युरोपेली मुलुक रहेकोमा हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका बनेको छ । पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट रहेका छन् ।

हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिकापछि क्रमशः स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन् । स्पेनमा संक्रमितको संख्या सवा लाख बढी छ भने इटालीमा करिब सवा लाख मानिसमा यसको संक्रमण भेटिएको छ ।

यस्तै जर्मनीमा ९६ हजारबढी संक्रमित भेटिएका छन् भने फ्रान्समा करिब ९० हजारलाई संक्रमण रहेको छ । त्यसैगरी संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ भने त्यसपछि क्रमशःस्पेन, अमेरिका, फ्रान्समा भएको छ ।

विश्वमा संक्रमणबाट कुल ६४ हजार ७ सय १० जनाको ज्यान गएको छ । यस्तै, संक्रमितमध्ये २ लाख ४६ हजार ४ सय ९६ जना निको भएका छन् । संक्रमित मध्ये हाल ९५ प्रतिशतको स्वास्थ्य अवस्था मध्यम छ भने ५ प्रतिशतको अवस्था गम्भिर छ ।

प्रतिक्रिया दिनुहोस्