फिदिममा छोरी जन्मिइन्, झापामा बावु विते



फिदिम, २२ चैत

भनिन्छ जन्म र मृत्युको कसैको वशमा हुदैन । अनि जन्म र मृत्युको अनौठो हुन्छ । यस्तै दुःखद् संयोग प¥यो पाँचथरको फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन तथा उहाँकी छोरीको जन्ममा ।

दुई साताअघि अत्यधिक ज्वरो आएपछि वडाध्यक्ष तुम्वापोलाई उपचारका लागि फिदिम स्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । एक साताको अस्पताल बसाईपछि केही स्वस्थ भएर उहाँ घर फर्किनुभयो ।

पुनः केही दिनमा अकस्मात नाक र मुखबाट रक्तश्राव हुने समस्या आएपछि उहाँलाई फिदिमको समर्पित अस्पतालमा स्वास्थ्य परीक्षण गराई थप उपचारका लागि सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो ।

प्रतिष्ठानमा केही दिनको उपचार पछि उहाँलाई चिकित्सकहरुले काठमाण्डौँ गई उपचार गराउन सल्लाह दिएका थिए । केही स्वस्थ भएपछि उहाँ घर फर्किनुभयो ।

“उहाँमा निकै जटिल स्वास्थ्य समस्या रहेछ । धरानबाट फर्किँदा केही फ्रेस भने हुनुभएको थियो”, फिदिमको समर्पित अस्पतालका जनसम्पर्क अधिकृत शिशिर आङ्बोले भन्नुभयो, “श्रीमती सुत्केरी हुने मिति नजिकिएकाले उहाँ यता आउनुभएको रहेछ ।”

विहीवार विहान घरैमा बेहोस् भएर ढलेपछि उहाँलाई उपचारार्थ फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरियो । थप उपचारका लागि विहीवार दिउँसो हेलिकप्टर मार्फत उहाँलाई झापा पु¥याइएको थियो ।

विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार अस्पतालमा भर्ना हुँदासम्म उहाँको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको थियो । आन्तरिक रक्तश्राव र रक्तअल्पताको समस्या रहेका तुम्वापोलाई अस्पतालले शुक्रवार दिउँसो २ः३० बजे मृत घोषित ग¥यो ।

शुक्रवार विहान तीन बजे उहाँकी श्रीमतीले फिदिम स्थित जिल्ला अस्पतालमा छोरीको जन्म दिनुभएको छ । आफन्त इन्दिरा तुम्वापोको अनुसार हिँजोदेखि सुत्केरी ब्यथा लागेकी उहाँकी श्रीमतीको ‘नर्मल डेलिभरी’ भएको हो । तीन वर्षअघि विवाह गर्नुभएका तुम्वापोकी दुई वर्षकी अर्की छोरी पनि छिन् ।

वडाध्यक्ष तुम्वापो सुत्केरी हुने क्षणमा श्रीमतीको साथै रहन घर आउनुभएको आफन्तको अनुमान छ । थप उपचारका लागि काठमाण्डौँ जाने तयारीसाथ उहाँ बुधवार घर आइपुग्नु भएको थियो ।

३४ वर्षीय तुम्वापो वडामा रचनात्मक कृयाकलापहरु तथा नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने विकासका कार्यहरु अघि बढाउँदै चर्चा हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहनुभएका तुम्वापो युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्थ्यो ।

युवा आन्दोलनबाट स्थापित तुम्वापोको आकस्मिक निधनपछि जिल्ला नै शोकमग्न बनेको छ । उहाँका बुवा महेन्द्रप्रसाद तुम्वापो समेत साविक चोकमागू गाविसका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्