कोरोनाभाइरसको नेपालमा थप तीन जनामा सङ्क्रमण



स्वास्थ्य मन्त्रालयले नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन् ।

‘कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ’ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने । ती महिला ३४ वर्षकी भएको बताइएको छ ।

डा. कार्कीका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड–१९ नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको संख्या नौ पुगेको छ ।

तीमध्ये पहिलो पटक पुष्टि भएका व्यक्ति भाइरसमुक्त भइसकेको अधिकारीहरू बताउँछन् । मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये एक व्यक्ति मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने अर्का व्यक्ति उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । तीनै जना अहिले आइसोलेशनमा छन् ।

उनीहरूबाट सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको जानकारी डा. कार्कीले दिए । पीसीआर विधिबाट गरिएको परीक्षणको परिणाम शनिवार सबेरै आएको हो । “रोचक कुरा के छ भने नेपालमा पुष्टि भएका सबै सङ्क्रमितमा मध्यम खालका लक्षणहरू मात्र देखिएका छ” डा. कार्कीले भने । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्