‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’



फिदिम, २१ चैत

फिदिम नगरपालिका–९ लुम्फाबुङका ‘हल्दार’ भनिने इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो क–कसले दिएका रे ?” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।”

उहाँ मुस्कुराउनु भयो । आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकोमा लावतीमा खुशी त थियो नै, त्यो भन्दा बढी आफू आर्थिक रुपले पीडित भएपनि कसैले नहेरेको, तर मन्त्रीले चामल पठाइदिएको भनेर उहाँ दङ्ग हुनुभयो ।

“घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भन्नुभयो, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे ! चेलीले सम्झिइन् ।”

लावती फिदिम र नवमीडाँडाबाट गाउँसम्म सामान बोेकेर जिविका चलाउँनुहुन्थ्यो । जब गाउँमा सडक र गाडी पुग्यो, आम्दानीको बाटो टुट्यो । श्रीमती पनि वितिन् ।

केही वर्षअघि फिदिमबाट गाउँसम्म पेट्रोल लिएर जानुभएको थियो उहाँ । घरमा राखेर वितेको काम सम्हाल्न थाल्नुभयो । पेट्रोल पोखियो, आगो उठ्यो, घर जल्यो ।

आर्थिक विपन्नताकै कारण छोराछोरीलाई राम्रोसँग पढाउन पाउनुभएन् । तर विहीवार ‘मन्त्रीले पठाइदिएको’ चामल पाउँदा लावतीलाई सबै खुशी फर्किएजस्तो लाग्यो ।

लावतीजस्तै पाँचथरको फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका ३ सय १० ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवारलाई मन्त्री आङ्बोले ब्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गराउनुभएको हो ।

लकडाउनको प्रभावले दैनिक श्रम गर्न नपाएर समस्यामा परेका विपन्न परिवारहरुलाई मन्त्री आङ्बोले रु. दुई लाख ५० हजार मूल्यको खाद्यान्न उपलब्ध गराउनुभएको हो ।

“लकडाउनको प्रभावले दैनिकी गुजार्न समस्यामा परेका आफ्नै निर्वाचन क्षेत्रका नागरिकलाई आफ्नै लगानीमा राहत दिएको हुँ”, मन्त्री आङ्बोले भन्नुभयो, “तीनै तहका सरकारले यस्ता परिवारहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । यसमा स्थानीय सरकारको विशेष तत्परता चाहिन्छ ।”

स्थानीय तहहरुले दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने तथा अति विपन्न आर्थिक अवस्थाको परिवारको रुपमा सूचिकृत गरेका परिवारहरुलाई जनप्रतिनिधिहरुकै रोहबरमा खाद्यान्न उपलब्ध गराइएको हो ।

मन्त्री आङ्बोले जिल्लाको तुम्बेवा गाउँपालिकाका एक सय ९० परिवार, फिदिम नगरपालिका–९ लुम्फाबुङका ६० परिवार तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । मन्त्री आङ्बो पाँचथर क्षेत्र नं. ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्