साबुन दिँदै, हात धुन सिकाउँदै



फिदिम, २१ चैत

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम न्यूनिकरण, सतर्कता तथा सचेतनाका लागि अहिले सरकारी निकायका अतिरिक्त नागरिक स्तरबाट समेत विभिन्न पहल हुँदै आएका छन् । यस्तै पहलका क्रममा पाँचथरको जागरण फाउण्डेसनले फिदिम नगरपालिका वडा नं. १२ मा साबुन बाँढ्दै, हात धोएर कसरी सङ्क्रमणको जोखिमबाट बच्ने भन्ने सचेतना सञ्चालन गरेको छ ।

सरकारी स्तरमा उक्त क्षेत्रमा सचेतनाको पर्याप्त पहल नभइरहेको अवस्थामा फाउण्डेसनले वडाका १२० घरमा साबुन वितरण गर्दै हात धुने तथा मास्कको प्रयोग गरेर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्ने उपायहरु बारे जानकारी गराएको हो । फाउण्डेसनकी सचिव मनिषा आचार्यको अगुवाई तथा स्थानीय युवाहरुको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गाउँ–घरमा कोरोनाभाइरसको सङ्क्रमणबारे अनावाश्यक भ्रम रहेकाले त्यसलाई चिर्न तथा सतर्कताका आवश्यक उपायहरु अवलम्बन गर्न कार्यक्रम आयोजना गरिएको फाउण्डेसनकी सचिव आचार्यले वताउनुभयो । उक्त फाउण्डेसनले विशेषत शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्