गम्भीर विरामी परेका वडाध्यक्ष तुम्वापोलाई उपचारका लागि झापा पुर्याइयो



फिदिम, २० चैत

रक्तश्राव र रक्त अल्पताका कारण गम्भीर विरामी परेका पाँचथरको फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलाराज तुम्वापोलाई उपचारका लागि झापा पुर्याइएको छ ।

विहीवार विहान घरैमा बेहोस् भएर ढलेका तुम्वापोलाई फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । आन्तरिक र क्तश्रावका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि तुम्वापोलाई थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भएको थियो ।

तर विहीवारनै तुम्वापोलाई काठमाण्डौँ पुर्याउन नसकिने भएपछि हेलिकप्टर मार्फत झापा पुर्याई विर्तामोड स्थित विएण्डसी अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गरिएको हो ।

विएण्डसीका जनसम्पर्क अधिकारी प्रमिस गिरीले तुम्वापोको अवस्था गम्भीर रहेकाले आइसीयूमा भर्ना गरी उपचार थालिएको जानकारी दिनुभयो । विएण्डसीमा उपचार सम्भव नभए शुक्रवार काठमाण्डौँ लैजाने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिनुभयो ।

गत हप्ता ज्वरो लगायत स्वास्थ्यमा समस्या भई फिदिम स्थित पाथीभरा अस्पतालमा केही दिन बसेर उपचार गराउनुभएका तुम्वापोलाई पुनः स्वास्थ्य समस्या भएपछि समर्पित अस्पतालमा परीक्षण गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) धरानमा थप उपचार गरिएको थियो ।

प्रतिष्ठानबाट स्वास्थ्यमा केही सुधार आएपछि तुम्वापो घर फर्किनुभएको थियो । बुधवार घर फर्किनुभएका उहाँ चिकित्सकको परामर्शअनुसार थप उपचारका लागि काठमाण्डौँ जाने तयारीमा रहेकै अवस्थामा विरामी पर्नुभएको हो ।

वडाध्यक्ष तुम्वापो राष्ट्रिय युवा संघ नेपाल पाँचथरको सह–संयोजक समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्