विदेशबाट फर्किएका एक तिहाई मानिस क्वारेन्टाइन बाहिर



फिदिम, १८ चैत

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाई भन्दाबढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ ।

विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने भनिएपनि पाँचथरमा त्यस्ता एक तिहाई भन्दाबढी मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको उक्त तथ्याङ्कले देखाएको छ ।

भारत सहित अन्य विदेशी मुलुकहरुबाट आएका मानिस तथा उनीहरुको परिवारका सदस्यहरु क्वारेन्टाइनमा नरहँदा कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने सम्भावना कायम हुनुका साथै ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिने भय समेत सिर्जना भएको छ ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिको सोमवार साँझसम्मको तथ्याङ्कअनुसार चैत महिना सुरु भएयता १४९ जना विदेशबाट यहाँ आएका छन् । यहाँ आएकामध्ये ५४ जना क्वारेन्टाइनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

तीन जना आइसोलेसनमा तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वारेन्टाइनमा छन् । बाँकी मानिसहरु सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन् । उनीहरुले सतर्कता अतर्कता अपनाए÷नपनाएको, कोरोना भाइरसबारे सचेत रहे÷नरहेको प्रष्ट छैन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसक्नु चिन्ताको विषय भएको वताउनुहुन्छ । “सबैलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने कुरा पनि भएन्”, प्रजिअ शर्माले भन्नुभयो, “सबै पक्ष लाग्दा समेत सबैलाई क्वारेन्टाइनमा ल्याउन सकिएको छैन् ।”

जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय स्तरका स्वयम्सेवकहरु विदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा पु¥याउन प्रयत्नशील रहेको उहाँको भनाई छ । “विशेषतः स्थानीय तहले सक्रियता देखाउनुपर्ने आवश्यकता छ”, प्रजिअ शर्माले भन्नुभयो ।

जिल्लाको फिदिम नगरपालिकामा चैत महिना लागेयता ३९ जना विदेशबाट आएको फिदिम नगरपालिकाकै तथ्याङ्क छ । फिदिममा होम क्वारेन्टाइनमा चार जना तथा क्वारेन्टाइनमा ११ जना छन् । बाँकी सबै क्वारेन्टाइन बाहिर छन् ।

“कतिपय उक्त समयभन्दा अगाडि आएका पनि छन् । कतिपय सचेत मानिसहरु पनि छन्”, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले भन्नुभयो, “हामी सचेततापूर्वक घरैमा बस्छौँ भन्नेलाई जवरजस्ती गर्न पनि भएन् ।”

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकामा ३१ जना उक्त अवधिमा विदेशबाट आएकामा दुई जना होम क्वारेन्टाइन तथा छ जना क्वारेन्टाइनमा छन् । फाल्गुनन्द गाउँपालिकामा २१ जना विदेशबाट आएकामा नौ जना होम क्वारेन्टाइन तथा तीन जना क्वारेन्टाइनमा छन् ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ सोमवारबाट मात्रै क्वारेन्टाइनमा राख्न थालिएका कारण केही मानिस बाहिर रहेको वताउनुहुन्छ । कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा भने विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखेको पाइएको छ ।

“हाम्रोमा छ जना विदेशबाट आउनुभएकोमा उहाँको परिवार सहित नौ जनालाई क्वारेन्टाइनमा राखेका छौँ” मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले भन्नुभयो ।

मिक्लाजुङ बाहेकका स्थानीय तहहरुले विदेशबाट फर्किएकाको सम्पर्कमा पुगेकाहरुलाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्न ठोस् पहल गरेका छैनन् । यस्तै छिमेकी मुलुक भारतबाट आएकाहरुबारे यकिन तथ्याङ्क समेत छैन् ।

जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीयको भारतको सिक्किम र दार्जिलिङसँग पारिवारीक तथा ब्यापारिक सम्बन्ध रहने गरेको छ । भारतबाट जिल्लाको चिवाभञ्ज्याङ नाका हुँदै आएको विवरण सीमा प्रहरी चौकीले राखेपनि लुकिछिपी आउने तथा फालेलुङ क्षेत्रबाट नेपाल प्रवेश गर्नेको तथ्याङ्क समेत छैन् ।

अधिकारकर्मी मंगल बेघा विदेशबाट फर्किएकाहरुमा सचेतना विस्तार अत्यावाश्यक रहेको औँल्याउनुहुन्छ । “नयाँ किसिमको रोग भएकाले यसको लक्षण, समस्या र बच्ने उपायबारे ग्रामीण क्षेत्रमा सचेतनाको कमी छ”, बेघाले भन्नुभयो, “स्थानीय तहहरुले सचेतना पु¥याउनु पर्छ । विदेशबाट फर्किएकाहरुलाई राम्रोसँग बुझाउनुपर्छ ।”

उनीहरुलाई राख्ने क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड अनुसार निर्माण गर्नुपर्ने र मापदण्ड पुगेका क्वारेन्टाइनमा शङ्कास्पद सबै जना बस्ने प्रवन्ध गर्नुपर्नेमा बेघाको जोड छ । “विदेशबाट फर्किएकाहरु क्वारेन्टाइन नआउँदा उनीहरुका कारण गाउँ आतङ्कित हुने अवस्था छ”, बेघाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्