

फिदिम, १९ चैत
जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई राहत दिन संघीय सरकारले दिएको निर्देशनअनुसार स्थानीय तहहरुले लगत सङ्कलन सुरु गर्दैछन् । तर पाँचथरका एक वडाध्यक्षले श्रम नगरी दैनिकी चलाउन समस्यामा पर्ने वडावासीहरुलाई आफ्नै लगानीमा खाद्यान्न वितरण गरेका छन् ।
जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मदन गौतमले आफ्नो वडाका १२ परिवारलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । गौतमले प्रत्येक परिवारलाई १५ किलोका दरले चामल सहित तेल, नुन लगायत दैनिक आवश्यकीय खाद्य सामग्री उपलब्ध गराउनुभएको छ ।
“गाउँ घरमा काम गरेर गुजारा गर्ने, एकल महिला तथा अति विपन्न परिवारलाई ब्यक्तिगत लगानीमा लकडाउन अवधिभरी पुग्ने खाद्यान्न दिएको हुँ”, वडाध्यक्ष गौतमले भन्नुभयो, “गाउँ भएपनि काम नगरी खान नपुग्ने परिवारहरु छन् । उनीहरुलाई मैले सहयोग गर्नैप¥यो ।”
दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने तथा अतिविपन्न परिवारलाई राहत उपलब्ध गराउन आफूले गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधिलाई प्रस्ताव गरेपनि तत्कालै राहत दिन नसकिने बुझेपछि वडा भित्र आफ्नै लगानीमा सहयोग गर्न थालेको वडाध्यक्ष गौतमको भनाई छ ।
“मेरोमा जस्तै विपन्न घर परिवार त अन्यत्र पनि हुनुहुन्छ होला”, गौतमले भन्नुभयो, “उहाँहरुले पनि अब केही सहयोग गर्नुहोला कि ?” गौतमले आगामी दिनमा समेत वडाका अतिविपन्न परिवारलाई ब्यक्तिगत रुपमा सहयोग गर्ने वताउनुभयो ।