पाँचथरमा विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु



फिदिम, १६ चैत

पाँचथरमा कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमणको जोखिम न्यूनिकरण गर्न विदेशबाट फर्किएकाहरुलाई स्थानीय स्तरमा निर्मित क्वारेन्टाइनहरुमा राख्न सुरु गरिएको छ ।

चैत महिनाभित्र विदेशबाट नेपाल आएका ब्यक्तिहरुको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधारमा हिँजोबाट क्वारेन्टाइनमा राख्ने काम सुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवम् कोभिड–१९ जोखिम न्यूनिकरण एवम् समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहहरुले शुक्रवारसम्ममा १२९ जना ब्यक्तिहरु विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए । शनिवारबाट प्राप्त विवरणका आधारमा क्वारेन्टाइनमा राख्ने काम सुरु गरिएको तथा थप ब्यक्तिहरुको विवरण सङ्कलन गर्ने काम जारी रहेको सुवेदीले वताउनुभयो ।

शनिवार साँझसम्म सबैभन्दा बढी याङवरक गाउँपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै हिलिहाङमा सात जना, कुम्मायकमा तीन जना, मिक्लाजुङमा एक जना र फिदिम नगरपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो ।

फिदिमले बनायो द्रूत कार्य टोली

फिदिम नगरपालिकाकाले कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनिकरण, सम्भावित सङ्क्रमितको पहिचान, पूर्वसतर्कता तथा प्रतिकार्यका लागि द्रूत कार्य टोली गठन गरेको छ । नगरपालिकाको स्वास्थ्य इकाईका प्रमुखको संयोजकत्वमा गठित उक्त टोलीले शङ्कास्पद र सेवा चाहिने विरामीहरुलाई सचेत गराउने, उपचार, उद्धार एवम् उपल्ला निकायमा सिफारिस गर्नेछ ।

नगरपालिका भित्र क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको रेखदेख गर्ने जिम्मा पाएको उक्त टोलीलाई सघाउन सात सदस्यीय स्वयंसेवक समिति समेत गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वताउनुभयो ।

कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनिकरण गर्न फिदिम नगरपालिकाले शनिबारबाट विलिपिङ पाउडर छर्किन सुरु गरेको छ । यहाँका अस्पतालहरु, क्वारेन्टाइन निर्माण भएका स्थलहरु, भीडभाड हुने तथा फोहोर जम्मा हुने क्षेत्रमा उक्त पाउडर छर्किन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्