फाल्गुनन्दका जनप्रतिनिधिको एक महिनाको सुविधा विपत ब्यवस्थापन कोषमा



फिदिम, १५ चैत

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो एक महिनाका सुविधा गाउँपालिकाको विपत ब्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

हिँजो बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोभिड–१९ (कोरोनाभाइरस) को जोखिम न्यूनिकरण तथा कोभिड–१९ लगायत अन्य महामारी तथा दैवी विपत्तिको रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धार कार्यका विपत ब्यवस्थापन कोष निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त कोषमा गाउँ कार्यपालिकाका सबै सदस्यहरुको एक महिनाको सुविधा जम्मा गर्ने तथा आगामी दिनमा गाउँपालिकाको बजेट र दाताहरुको सहयोग समेत सङ्कलन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

यस्तै उक्त गाउँपालिकाले कोभिड–१९ को प्रकोप तथा लकडाउनको प्रभावलाई मध्यनजर गर्दै गाउँपालिका भित्रका विपन्न वर्गका श्रमिक तथा मजदूरहरु, विपन्न, असाहाय र अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी राहत दिने भएको छ ।

पहिलो चरणमा गाउँपालिकाका सात वटा वडामा ५० जनाका दरले मजदूर, विपन्न, असाहाय तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न वितरण गर्ने तयारी थालिने गाउँपालिका अध्यक्ष कुरुम्बाङले वताउनुभयो ।

गाउँपालिकाले कोभिड–१९ को प्रकोप रहुञ्जेल गाउँपालिका भित्र खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन प्रति सुरक्षाकर्मी दैनिक रु. दुई सयका दरले प्रोत्साहन भत्ता दिने तथा सवारीमा इन्धनको प्रवन्ध गरिदिने भएको छ ।

पाँचथर–इलाम सीमावर्ती राँके बजरमा निर्माण गरिएको क्वारेन्टाइनलाई आवश्यकताअनुसार विस्तार गर्ने तथा आवश्यक औजार र उपकरणको प्रवन्ध गर्ने बैठकले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्