पाँचथरमा पीपीई र फायरगन अभाव



फिदिम, १४ चैत

पाँचथरमा कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमित विरामीहरुको स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तथा फायरगनको अभाव भएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले पाँचथरका लागि आठ थान पीपीई उपलब्ध गराएको छ । कोभिड–१९ का शङ्कास्पद विरामीहरुको जाँच तथा रेफरका लागि उक्त सङ्ख्या अपुग रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले वताउनुभयो ।

“कोभिड–१९ का शङ्कास्पद विरामीको जाँच हुने जिल्ला अस्पताल र समर्पित अस्पताल तथा एम्बुलेन्स चालकहरुलाई प्राप्त भएको पीपीई उपलब्ध गराइएको छ”, सुवेदीले भन्नुभयो, “जिल्लामै यो अभाव भएको छ । स्थानीय तहले कसरी प्राप्त गर्ने ?”

यस्तै कोभिड–१९ का शङ्कास्पद विरामीको चाँडो तापक्रम मापन गर्ने यन्त्र (फायर गन)को समेत अभाव छ । स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा दुई थान फायरगन उपलब्ध छ । धेरै जना शङ्कास्पद विरामीहरु आएको अवस्थामा उक्त यन्त्रले राम्रोसँग काम नगर्ने सुवेदीको भनाई छ ।

“पीपीई र फायरगन स्थानीय तह आफैँले ब्यवस्थापन गर्ने हो”, सुवेदीले भन्नुभयो, “सरकारी अस्पतालले प¥याप्त नपाइरहेको अवस्थामा निजी अस्पतालले पाउने कुरा भएन् ।”

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा मित्रराष्ट्र चीनबाट यी सामग्री ल्याइएपछि जिल्लामा उपलब्ध हुने वचन पाएको वताउनुहुन्छ । “भोली चीनबाट ल्याइदैछ भन्ने सुनेका छौँ”, सापकोटाले भन्नुभयो, “अहिले पीपीई जस्तै रेनकोटको प्रयोग गर्ने भनेका छौँ ।”

झापामा उत्पादित उक्त सामग्री प्रयोगमा ल्याइएको हो । चीनबाट ल्याइने उपकरण जिल्ला तथा स्थानीय तह स्तरमा आइपुग्ने सापकोटाका विश्वास छ ।

२०८ वटा क्वारेन्टाइन तयार

पाँचथरमा सदरमुकाम फिदिम सहित सात वटा गाउँपालिकामा २०८ वटा क्वारेन्टाइन तयार पारिएको छ । फिदिम बजार भित्र ७० वटा तथा बाँकी गाउँपालिकाका केन्द्रहरुमा तयार पारिएका हुन् । “

थप क्वारेन्टाइनका बेड आवश्यक परेको खण्डमा गाउँपालिकाहरुले तयार पार्नेछन्”, जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले भन्नुभयो, “फिदिममा एक सय बेड पु¥याउने तयारी भइरहेको छ ।” यस्तै जिल्ला अस्पतालमा सात बेडको आइसोलेसन कक्ष समेत तयार भएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो ।

दुई जना आइसोलेसनमा, सात जना क्वारेन्टाइनमा

पाँचथरमा हालसम्म कोभिड–१९ का दुई जना शङ्कास्पद विरामीहरुलाई आइसोलेसनमा भर्ना गरिएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

यस्तै कोभिड–१९ सङ्क्रमित युवतीसँगै कतार एयरवेजको उडानबाट नेपाल आएका दुई जना तथा हालैमात्र विदेशबाट नेपाल आएका दुई जना गरी चार जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले वताउनुभयो ।

यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाले हालैमात्र विदेशबाट फर्किएका तीन जनालाई गोपेटार स्थित क्वारेन्टाइनमा राखेको छ ।

चैतमा विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने

यसैवीच सोमवार बसेको सर्वपक्षीय बैठकले चैत महिनामा भारत सहित विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

“स्थानीय तहहरुलाई दुई हप्ताभित्र विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्न भनिएको थियो । १२९ जनाको विवरण प्राप्त भएका छ”, सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “सबैको निरन्तर खोजी एवम् पहिचान हुन्छ । सबैलाई क्वारेन्टाइनमा राखिन्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख सापकोटाका अनुसार बैठकले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा तिनको सम्पर्कमा रहेका तथा परिवारलाई होम क्वारेन्टाइनमा राख्न सके सम्भावित सङ्क्रमण कम हुने बैठकले निश्कर्ष निकालेको हो ।

“भोलीबाटै सबैलाई क्वारेन्टाइनमा राखिन्छ र विदेशबाट आएका अरुको पनि खोजी हुन्छ”, सापकोटाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्