नेपालमा पाँचौ व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि



नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी सरकारले दिएको छ । बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी उनी १९ वर्षीय युवती भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फेसबुक लाइभ मार्फत दिएका छन् ।

उनी काठमाण्डू बाहिरकी रहेकी र चिकित्सकको सम्पर्कमा आएर उपचाररत रहेकी पनि उनले बताए । नेपालमा पहिलो सङ्क्रमित व्यक्ति कोरोनाभाइरसको सङक्रमण सुरु भएको स्थान भनिँदै आएको वुहानबाट हिउँदे बिदामा नेपाल आएका नेपाली विद्यार्थी थिए । उनी उपचार गरेर निको भइसकेका छ्न।

दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत भनिएकी र कतार एअरवेजबाट नेपाल आएकी १९ वर्षीय महिलामा फेला परेको थियो । उनीसँग जहाजमा सँगै यात्रा गरेका करिब ८० जनालाई खोजेर क्वारन्टीनमा जान र एक्लिएर बस्न भनिएको छ ।

तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो । चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए । शनिवार ती चौथो व्यक्तिका उडानको विस्तृत विवरण प्राप्त भएको देवकोटाले बताए ।

उनका अनुसार “सङ्क्रमित चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए । यूके १५५ फ्लाइट नम्बर हो । दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका हुन् । र उनी धनगढीमा उपचाररत छन् ।”

पाँचौमा बेल्जियमबाट कतार हुँदै आएकी महिला परेकी छन् । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका जति सबै बाहिरबाट आएकाहरू परेको प्रवक्ता देवकोटाले बताए । देवकोटाले दुईजना सङक्रमितलाई टेकु अस्पताल क्वारन्टीनमा राखेर उपचार भइरहेको जानकारी पनि दिए । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्