

फिदिम, १४ चैत
पाँचथरको फिदिम नगरपालिकाले कोभिड–१९ सहित अन्य महामारी रोकथाम, सतर्कता, राहत वितरण तथा उद्धार कार्यका लागि रु. २१ लाख रकम रहेको विपत ब्यवस्थापन कोष खडा गरेको छ ।
विश्वब्यापी रुपमा कोभिड–१९ (कोरोनाभाइरस)को प्रकोप फैलिइरहेको अवस्थामा उक्त कोषबाटै लगानी गर्ने तथा आगामी दिनमा समेत दैवी विपत्ति र महामारीमा खर्च गर्ने उद्देश्यले कोष खडा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले रु. २१ लाख रकम जम्मा गरेको उक्त कोषमा दाताहरुले सहयोग रकम जम्मा गर्न सक्ने फिदिम नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण प्रतिकार्य एवम् उपचारात्मक कामका लागि नगर प्रमुख ओनाहाङ नेम्वाङको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ भने नगर भित्रका १४ वटै वडामा जागरण, सचेतना र आवश्यक समन्वयका लागि वडा समन्वय समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले फिदिम बजार आसपास निर्माण हुने क्वारेन्टाइन र आइसोलेनका लागि आवश्यक प्रवन्ध समेत गर्ने भएको छ ।
यसैगरी नगरपालिका भित्र विदेशबाट आएका ब्यक्तिहरुको विवरण सङ्कलन गरिएको छ । विदेशबाट हालै नेपाल आएका र कोभिड–१९ को शंका लागेका ब्यक्तिहरुलाई आवश्यक परे क्वारेन्टाइनमा राख्ने नगरपालिकाको तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयहरुले गरेको तथ्याङ्क संकलनमा फिदिम नगरपालिकामा १५ दिन अगाबै विदेशबाट आएकाहरु मात्रै भेटिएका छन् ।
साताअघि आएका एक ब्यक्ति भने कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै कतार एयरवेजको उडानबाट आएकाले उनलाई कोरोनाभाइरस सङ्क्रमणको आशंकामा प्रदेश सरकारले निर्माण गरेको मोरङको मिक्लाजुङ स्थित क्वारेन्टाइनमा पठाइएको फिदिम नगरपालिकाले जनाएको छ ।
यस्तै वडा स्तरमा क्वारेन्टाइन निर्माणका लागि पहल थालिएको प्रमुख प्रशासकीय अधिृकत अधिकारीले वताउनुभयो । उहाँका अनुसार फिदिम स्थित स्वास्थ्य संस्था, क्वारेन्टाइन तथा आइसोलेसन् वार्डहरुमा आवश्यक सामग्रीको प्रवन्ध नगरपालिकाले गरिरहेको छ ।
नगरपालिकाले नगरभित्र दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदूरलाई लकडाउनका कारण जीवनयापनमा समस्या पर्नसक्ने भएकाले अभिलेख संकलन तथा तथ्याङ्क विश्लेषण गरी राहत दिने उद्देश्यले पद्धति निर्माण भइरहेको जनाएको छ ।